बौद्ध परियत्ति शिक्षाको ५६ औ दिक्षान्त समारोह सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख १९ । अखिल नेपाल भिक्षुमहासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको ५६ औ दिक्षान्त समारोह सम्पन्न भएको छ ।

भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कोविद अन्तिम वर्षमा बोर्ड प्रथम हुने दिपंकर परियत्ति केन्द्रका रोजन शाक्यलाई पदक तथा प्रमाण पत्र वितरण गर्नुभयो ।

साथै कोविदमा द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गर्नु भयो । यसैगरि सद्धम्मपालक कक्षा ७ मा बोर्ड प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो । सद्धम्मपालक तहमा विश्वशान्ती विहारका भिक्षु सारदस्सी, भिक्षु जेय्यो, अन्र्तराष्ट्रिय बुद्ध उदय विहारका हरि वुचामगर क्रमशः बोर्ड प्रथम, द्वितीय र तृतीय भएका थिए ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, परीक्षा नियन्त्रण कार्यालयका परिक्षा नियन्त्रक भिक्षु वोधिज्ञान, पाठयक्रम समितिका संयाेजक भिक्षु पञ्ञासार र सचिव भिक्षु पियदस्सीले कक्षा ६ देखि कक्षा १ सम्म बोर्ड स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
अखिल नेपाल भिक्षु महासंघका संघनायक श्रद्धेय ज्ञानपूर्णिक महास्थविरले परियत्ति पाठ्यक्रम प्रकाशन गर्न आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।
नेपाल बौद्ध परियत्ति शिक्षा बु.सं २५६२ वर्षमा ७५ वटा केन्द्र र ११ वटा प्राईभेट केन्द्रबाट जम्मा ५००२ जना विद्यार्थीहरुले आवेदन फाराम भरेका थिए भने ४,१६७ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए जसमध्ये ३८४७ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । २२ जना विद्यार्थीहरु बोर्ड स्थान हासिल गर्न सफल भएका छन् भने ४४३ जना विद्यार्थीहरु डिस्टिंशन, १६४४ विद्यार्थीहरु प्रथम श्रेणी, ११६४ दोस्रो श्रेणी र ५९६ जना विद्यार्थीहरु तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।

BMS