अश्वघोष महास्थविरको सम्झनामा गुणानुस्मरण तथा श्रद्धाजलि सभा

बोधी संवाददाता
काठमाडौं, बैशाख ८ । नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविरको सम्झनामा आइतबार काठमाडौंमा अखिल नेपाल भिक्षु महासंघ लगायत विभिन्न बौद्ध संस्थाहरुले संयुक्त रुपमा गुणानुस्मरण तथा श्रद्धाजलि सभाको आयोजना गरे ।
कार्यक्रममा थेरवाद, महायान तथा वज्रयान तिनै निकायका धर्मगुरुहरुले आआफ्नो परम्पराअनुरुप प्रार्थना गरेर अश्वघोष भन्तेको सुगति एवं निर्वाण कामना गर्नुभयो ।
उक्त कार्यक्रममा वर्तमान संघनायक भिक्षु ञानपूर्णिक महास्थविर तथा नेकपा संसदीय दलका उपनेता सुबास नेम्बाङ लगायत अन्य सहभागीहरुले भिक्षु् अश्वघोषको तसबिरमा पुष्पान्जली अर्पण गर्नुभयो ।
कार्यक्रममा संघनायक ञानपूर्णिक, उपनेता नेम्बाङका साथै धर्मकीर्ति विहारका प्रमुख धम्मावती गुरुमां, कार्यक्रम संयोजक एवं अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्य, उपासकहरुका तर्फबाट सुवर्ण शाक्य तथा लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव विमल कुमार शाक्यले अश्वघोष भन्तेप्रति श्रद्धान्जलि व्यक्त गर्नुभयो ।
उहाँहरुले अश्वघोष महास्थविरले नेपालमा बुद्धधर्मको विकास र विस्तारमा गर्नुभएको भूमिका तथा उहाको बहुआयामिक योगदानलाई स्मरण गरी उहाँको निर्वाण कामना गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न देशका सरकार एवं धार्मिक संस्थाहरुबाट प्राप्त समवेदना सन्देशहरुको बाचन पनि गरिएको थियो ।
विसं १९८३ जेष्ठ शुक्ल १५का दिन जन्मनुभएका महास्थविरको निधन गत २०७५ चैत्र २२ गते भएको थियो ।

RZM

2 years ago/Sunday, April 21st, 2019 /