१२औं राष्ट्रिय बौद्ध सम्मेलन लमजुङमा सम्पन्न

बोधी संवाददाता
बेसिशहर, लमजुङ, चैत २६ । विसं २०७६मा हुने राष्ट्रिय जनगणनामा नेपालका बौद्धहरुको तथ्यांक सही आओस् र उनीहरुले नेपालको मानचित्रमा आफ्नो सही आंकलन गरोस् भनेर अभियान चलाउने निर्णयका साथ गत शुक्रबारदेखि यहाँ सञ्चालन भइरहेको १२औ राष्ट्रिय बौद्ध सम्मेलन समापन भयो ।
कार्यक्रमको अन्तमा जारी गरिएको घोषणापत्रमा भनिएको छ — “यो सम्मेलनमा सहभागी संघ संस्थाहरु एकजुट भई आगमी जनगणनाका लागि धर्मोदय सभाको तत्वावधानमा सम्पूर्ण बौद्ध तथा आदिवासी जनजातिहरुको सत्य तथ्य तथा पहिचान खुलाउने अभियान गर्न एक समन्वय समिति गठन गर्ने नीति तय गर्दछ ।”
यसका अनुसार नेपालको सरकारी तथ्यांकमा बौद्धहरुको जनसंख्या वास्तविकता भन्दा अति न्यून देखिन्छ । यसो हुनुमा जनगणना गर्ने प्रविधि र प्रकृयामा कमजोरीहरु छन् भने बौद्ध समुदायमा पनि चेतनाको अभाव देखिन्छ । बौद्धहरुको संख्या यथार्थ भन्दा कयौ गुणा कम देख्दा सरकारको नीति र कार्य योजना निर्माणमा असर पर्नुका साथै राजनीतिक सामाजिक क्षेत्रमा गलत अर्थ लगाउने प्रयास भइ रहेको देखिन्छ । त्यसकारण यस घोषणा पत्रले यो सम्मेलन सबै जाती, संस्कृति धर्मलाई आ—आफ्नो पहिचानका साथ फल्न फूल्न दिए हाम्रो देश वलियो, सुन्दर र शान्त बन्दछ भन्ने कुरामा विश्वास गरेको छ ।

 

बुद्ध धर्म भन्नु नै बौद्ध शिक्षा हो भन्ने सत्यलाई सम्झँदै यसले मानिस जीवनमा दुःखवाट मुक्त हुन र सुख पूर्वक जीवन जिउन बुद्धले दिनुभएको शील , समाधी र प्रज्ञाको शिक्षालाई नेपालीहरुमा सहज उपलब्ध हुन बौद्ध संघ संस्थाहरु प्रमुख शहर मात्र नभई गाँउ, पहाड, तराइ मधेश सबै ठाँउमा अग्रसर हुनुपर्ने र नेपाल सरकारले पनि सुहाउदो शिक्षा नीति र कार्य योजनाहरु सम्पादन गर्नु पर्ने देखिन्छ भनेको छ ।
साथै लुम्बिनीलाई विश्व शान्तिको मुहान भनेर घोषणा पनि भइसकेको परिप्रेक्षामा नेपाललाई अन्तराष्ट्रिय स्तरको बौद्ध शिक्षा र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न पहल हुनुपर्नेमा पनि जोड दिएको छ ।

 

यसबाहेक यस घोषणा पत्रले नेपालमा यसरी ऐतिहासिक संविधान जारी भइसकेतापनि संविधानमा उल्लेखित मान्यता र मर्म विपरित कसैबाट एउटा धर्म र संस्कृति प्रति बढी संलग्नता देखाउनु वा धार्मिक निस्पक्षतामा केही शंका उत्पन्न गराउने कुनै कार्य नहोस भनि विशेष सर्तकता अपनाउन अपिल पनि गरेको छ ।
कार्यक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचनले बिसं २०७८या नेपालको राष्ट्रिय जनगणनमा बौद्धहरुको सरोकार र भूमिकाका विषयमा मूलसम्बोधन गर्नुभयो । उहाँले १९५२देखि २०११सम्मको बौद्ध जनसंख्याको विस्तृत तथ्यांक प्रस्तुत गर्दै सरकारले बौद्धहरुको संख्या कम देखाई नेपालमा हिन्दुधर्मको बोलाबाला छ भनेर प्रस्ततु गर्न खोजेको छ भन्नुभयो । त्यसैले २०२१को जनगणनामा आफ्नो धर्म बौद्ध किन लेखाउने, हामी बौद्ध हौं भन्न गाह्रो भएको भूमपूर्ण कुराका सम्बन्धमा, सन् २०२१को जनगणनामा धर्मको महलमा बौद्ध लेखाउन के गर्ने भन्ने विषयमा बुँदागत रुपमा गर्न पर्ने कामहरुको ब्याख्या गर्नुभयो ।
आइतबारको सम्बोधन कार्यक्रममा धर्मोदय सभाका उपाध्यक्ष आइबि गुरुङ, तमु ह्युल छोंज धिंका अध्यक्ष रेशम गुरुङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल तमाङ घेदुका अध्यक्ष बाबु घिसिङ, मगर बौद्ध सेवा समितिका अध्यक्ष देउ बहादुर राना, ओबिसी महासंघका प्रवक्ता वीर बहादुर महतो, थारु कल्याण समितिका लाहुराम चौधरी लगायत बक्ताहरुले नेपालका अधिकांश जनजातिहरु बौद्ध भएकोको अवस्थामा नेपालको बौद्ध जनसंख्या ६० प्रतिशत भन्दा बढी हुनुपर्नेका ९ प्रतिशत भन्दा कम देखाएर सरकारले जनतामाथि अन्याय गरिरहेको तर्क प्रस्तुत गरे ।

सम्मेलनको उद्घाटनको क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको मौलिक परिचय भन्नु नै बुद्ध धर्म भएकोले बौद्ध समुदायले आफ्नो पहिचान जोगाउन जनगणनामा आफुलाई बौद्ध नै भनेर चिनाउन आवश्यक भएको बताउनुभयो । साथै उहाँले अहिलेको अवस्थामा कसैले नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउन कोशिस गर्नु पनि अर्थहिन भएको बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, पूर्वसांसद जमीन्द्रमान घले, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार लगायत अन्यले नेपालको आउँदो जनगणनामा बौद्धहरुको बास्तविक तथ्यांक आओस् भन्ने चाहना व्यक्त गरे ।
उक्त सम्मेलनका संयोजक तथा धर्मोदय सभाका उपाध्यक्ष डा. केशवमान शाक्य र धर्मोदय सभाका केन्द्रिय महासचिव सागरमान बज्राचार्य ले छोटो समयमा पनि यस्तो वृहत कार्यक्रम गर्दाको अनुभव एवं उपलब्धिको बारेमा बताउनुभयो ।

उक्त कार्यक्रममा बौद्ध विद्वान प्रा डा बज्रराज शाक्ययातलाई धर्मोदय पुरस्कारबाट पुरस्कृत गरियो । त्यस्तै बेसीसहरका रणबहादुर गुरुङ तथा सुन्दरबजार नगरपालिका खरजङ गुरुङलाई लक्ष्मीदेवी मानन्धर स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको सभापतित्व धर्मोदय सभाका सभापति यज्ञमानपति वज्राचार्यले गर्नुभएको थियाे ।

धर्मोदय सभा नेपाल केन्द्रीय समितिको आयोजना तथा लमजुङ बेसीशहर र भोटेओडार शाखाको व्यवस्थापनमा सम्पन्न भएको उक्त राष्ट्रिय सम्मेलनमा काठमाडौं उपत्यका लगायत नेपालका सबै जिल्लाका प्रतिनिधि तथा अन्य गरी करिब एक हजार बौद्धहरुको उपस्थिति थियो ।
कार्यक्रमको शुरुमा बिभिन्न बौद्ध आदिबासी जनजातिहरुको साँस्कृतिक झाँकी याली सहित्को रयाली भएको थियो भने कार्यक्रमको अन्त मैनबत्ती सहितको शान्ति पदयात्राबाट भएको थियो ।

2 years ago/Wednesday, April 10th, 2019 /