धर्मपाल महास्थविरको वार्षिक पुण्य तिथिमा महापरित्राण पाठ

बोधी संवाददाता
ललितपुर, फागुण १९ । श्री शाक्यसिंह विहारका विहार प्रमुख एवं वोधि टेलिभिजनका संस्थापक अध्यक्ष, फ्राखु शोभन श्रद्धेय धर्मपाल महास्थविर दिवंगत हुनु भएको वार्षिक पुण्य तिथिको अवसरमा आज शाक्यसिंह विहारमा उहाँको स्मृतिमा भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न भयो ।
बोधिचर्या महाविहारका विहार प्रमुख श्रद्धेय बोधिसेन महास्थविरबाट शील प्रदान गरी उक्त कार्र्यक्रम शुरुवात भएको थियो । कार्यक्रममा श्रद्धेय धर्मपाल महास्थविरको पूजनीय आमा नानीमाया तण्डुकार र फुपु श्रद्धेय सत्यशीला गुरुमांले महापरित्राण पाठ गर्ने मण्डप अगाडिको बत्ति बाली श्रद्धान्जली अर्पण गर्नुभयो भने उनका दाजु महेन्द्र तण्डुकारले श्रद्धेय भिक्षु धर्मपाल महास्थविरको फोटो अगाडि बत्ती बाली श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धेय बोधिसेन महास्थविर लगायत अन्य भिक्षु अनागारिका गुरुमांहरु तथा उपासक उपासिकाहरुबाट सामूहिक बुद्ध पूजा पछि थाईलैण्डबाट पाल्नुभएको श्रद्धेय परिपूर्ण महास्थविरले दिवंगत श्रद्धेय धर्मपाल महास्थविर पाँच वटा असल गुणले सम्पन्न भएको भन्दै उहाँले बुद्ध शासनमा गर्नुभएको योगदान बारे चर्चा गर्नुभएको थियो ।
सामूहिक महापरित्राण पाठ पछि दुई दुईजना भिक्षुहरुबाट युगल महापरित्राण पाठ कार्यक्रम भएको थियो ।
भिक्षु महासंघबाट सामूहिक रुपमा आह्वान सूत्र पाठ गरी सामूहिक रुपमा शुरु भएको उक्त पवित्र महापरित्राण पाठमा दिवंगत श्रद्धेय धर्मपाल महास्थविरको निर्वाणको कामना गर्दै उहाँको परिवारबाट भिक्षु महासंघलाई दान प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न विहारबाट पाल्नु भएका भिक्षु, अनागारिका गुरुमांहरु तथा उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा सम्पूर्ण महानुभावहरुबाट पुण्यानुमोदन गरि पवित्र महापरित्राण पाठ सम्पन्न भएको थियो ।
श्रद्धेय धर्मपाल महास्थविर, वि.सं २०२८ सालमा संघमहानायक भन्तेको छत्रछायाँमा माधव तण्डुकार प्रवजित भई श्रामणेर उपगुप्त हुनु भएको थियो । वि.सं २०३१ सालमा संघमहानयक प्रज्ञानन्द भन्तेको सहयोगबाट थाईलैण्डमा बुद्ध धर्म सम्बन्धी उच्च अध्ययनको लागी जानुभयो । त्यहाँ पुगेर वि.सं २०३३ साल असार १४ गते थाईलैण्डका कार्यकारिणी संघराजा सोमदेच बुद्धाचर्नको उपाध्यायत्वमा भिक्षु धम्मपाल हुनुभएको थियो ।
थाई सरकारबाट Ambassador for Peace, थाईलैण्डको महाथेर समागमबाट फ्राखु शोभन धर्मपाल पद्वी तथा विभिन्न संघसंस्थाबाट सम्मानित हुनु भएका श्रद्धेय भिक्षु धर्मपाल महास्थविरले, प्रज्ञानन्द महास्थविर संक्षिप्त जीवनी, A collection of letters of Felicitation of Sangha Mahanayak Vikhu Pragyananda Mahasthvir, त्रिरत्न वन्दना र नेपाल भाषामा परित्राण, बुद्धपूजा पुस्तकहरु प्रकाशन गरी बुद्ध धर्म प्रचार प्रसार गर्न योगदान गर्नुभएको छ । त्यसैगरी श्री शाक्यसिंह विहार पुनः निर्माण कार्यमा पनि उहाँको ठूलो योगदान रहेको छ । साथै स्वदेशमा मात्र होइन थाईलैण्ड बसेर पनि उहाँले बुद्धधर्ममा योगदान गर्नुभएको थियो । वि.सं २०७२ सालको भूकम्पबाट पीडितहरुलाई उहाँले थाईलैण्डबाट सहयोगको आह्वान गरी विभिन्न देशबाट सहयोग जुटाई, सहयोग गर्नभएको स्मरणीय छ ।
श्रद्धेय भिक्षु धर्मपाल महास्थविर वि.सं २०७४ साल फागुन १९ गते, दिवंगत हुनु भएको थियो । उहाँको वार्षिक पुण्यतिथिको अवसरमा निर्वाणको कामना गर्दै, बोधि टेलिभिजन हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

BMS