भुकम्पले क्षतिग्रस्त स्वयम्भु पुनःनिर्माण हुँदै

— विमला शाक्य
स्वयम्भु महाचैत्य बौद्धहरु मात्र होइन अरु धर्मावलम्बीहरुको लागि पनि धार्मिक स्थल, पर्यटकीय स्थल तथा विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध स्थल हो । स्वदेशी तथा विदेशी पर्यटकहरु दिनहुँ जसो यस स्थानमा भ्रमण गर्न आउने गर्दछन् । यस धार्मिक, ऐतिहासिक, सम्पदा स्थल काठमाडौंबाट डेढ कि.मी पश्चिमस्थित गोपुच्छ पर्वतमा अवस्थित छ । । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस पर्वतलाई पद्मागिरी, बज्रकूट, गोश्रृंख पर्वतको नामले पनि चिनिन्छ ।

 
स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका पहिला दहको रुपमा थियो । विपश्वी बुद्ध बन्धुमति नगरबाट यहाँ आउनु भई कमलको बिज छर्नु भएको थियो कालान्तरमा त्यस बिजबाट हजारौं पत्र भएको कमलको पूmल उत्पन्न भई स्वयम्भु ज्योतिरुप उत्पत्ति भएको मानिन्छ । स्वयम्भु ज्योतिरुप उत्पन्न भईसकेपछि विभिन्न समयमा शिखि, बिश्वभू, क्रकुछन्द तथागतहरु दर्शन गर्नआउनु भएको उक्त ग्रन्थमा उल्लेख छ । पछि चीनबाट महामन्जुुश्री आउनु भई स्वयम्भु ज्योतिरुपको दर्शन गर्नु भयो र आप्mनो चन्द्रहास खड्गले चोभारको डाँडा काटेर यस दहको पानी सबै बाहिर पठाई यहाँ मानव बस्ती बसाल्नु भएको थियो । जुन मन्जुपतन नामले प्रसिद्ध भयो । उनले धर्माकर भन्नेलाई राजा बनाई फर्केकोे कुरा पनि त्यस ग्रन्थमा उल्लेख छ ।

 

गौड देशबाट आउनु भएका शान्तिकराचार्यले स्वयम्भु ज्योतिरुपलाई छोपेर चैत्य बनाएका थिए । त्यसपछि उनी स्वयम्भु चैत्यको पश्चिम भागमा रहेको शान्तिपुर निर्माण गरी अस्फानिक योग गर्नुभएको मानिन्छ । स्वयम्भु महाचैत्यको रक्षार्थ त्यसबेला चैत्य वरिपरि ५ वटा पुरहरु बनाएको भनिन्छ । भूकम्पबाट स्वयम्भु रक्षाको लागि वसुपुर, आगोबाट रक्षा गर्न अग्निपुर, जलबाट रक्षा गर्न नागपुर, वायुबाट रक्षा गर्न वायुपुर निर्माण गरेको मानिन्छ । शान्तिपुर तान्त्रिक मन्दिरको रुपमा लिइन्छ जुन मन्दिरमा शान्तिकराचार्य । यी पुरहरुलाई पंचपुर पनि भन्ने गरिन्छ । स्वयम्भु भूगर्भ भित्र रहेका रत्ननिधि रक्षा गर्न हारती मांको मन्दिर बनाएको थियो जसलाई रत्नपुर पनि भनिन्छ । प्रतापमल्लले आप्mनी पत्नी अनन्तप्रियाको नाममा स्वयम्भुको दक्षिण दायाँ भागमा अनन्तपुर र आप्mनै नाममा उत्तर बायाँ भागमा प्रतापपुर निर्माण गराएका थिए ।

 

महाचैत्यको ठीक अगाडि देवाधर्म गुम्बा रहेको छ भने प्रतापपुर नजिकै कर्मराज गुम्बा गरी दुईवटा गुम्बा स्वयम्भु परिसरमा रहेका छन् । प्रतापपुर नजिकै स्वयम्भु ज्ञानमाला भजन खलः रहेको पुरानो पाटी छ । अनन्तपुर नजिकै दक्षिण भागमा बसुपुर रहेको छ । त्यसै गरी दक्षिण भागमै मंगलबहूद्वार चैत्य रहेको छ । त्यसको नजिकै वायुपुर र संग्रहालय रहेको छ ।

 

यसरी धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको रुपमा विश्व प्रसिद्ध सम्पदा स्वयम्भु महाचैत्यमा विभिन्न समयमा प्राकृतिक विपत्ती आइपरेका छन् । सन् १३५० मा बंगालका सुल्तान शमसुद्दिनले काठमाडौं उपत्यकामा हमला गरी लुटपाट मच्चाएको थियो त्यही बेला स्वयम्भू चैत्यलाई भत्काई आगो लगाइदिएका थिए ।

 

सन् १३७२मा कान्तिपुरको राजहर्ष भल्लोकले पुननिर्माण गरेका थिए । त्यसपछि सन् १५७४ मा राजा शिवसिंहको रानी गंगावतीले यस चैत्यको जिर्णोद्धार गरेकी थिईन् । सन् १६०१ मा स्वयम्भुमा चट्यांग परी क्षतिग्रस्त भएको थियो जसलाई जयलक्षजुले जिर्णोद्धार गरेका थिए ।

पछिल्लो समय वि.सं २०७२ सालको महाभूकम्पले देशमा रहेका विभिन्न महत्वपूर्ण सम्पदाहरुलाई क्षति पुर्याएको थियो जसमध्ये प्रसिद्ध स्वयम्भु महाचैत्यलाई पनि ठूलो असर पुर्याएको थियो । भूकम्पले स्वयम्भु परिसरमा रहेका १७ वटा सम्पदाहरुलाई क्षति पुर्याएको तथ्यांक स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष महेन्द्र रत्न बुद्धाचार्यले दिनु भएको छ । जसमध्ये कुनै सम्पदाहरु पूर्णरुपमा क्षति भएका छन् भने कुनै आंशिक रुपमा क्षति भएका छन् । उनका अनुसार स्वयम्भु चैत्य चर्केको, चैत्यको अगाडि रहेको देवाधर्म गुम्बा, कर्मराज गुम्बा, मंगलबहूद्वार चैत्य, शान्तिपुर आदि पूरै क्षति भएको थियो भने बसुपुर, बसुबन्धु चैत्य, म्यूजियम, वायुपुर, मन्जुश्री चैत्य, पुरानो स्वयम्भु आदि सम्पदाहरु आंशिकरुपमा क्षति भएको उहाँले जानकारी दिनु भयो ।

 

स्वयम्भु महाचैत्य वरिपरि रहेका यी महत्वपूर्ण सम्पदाहरुलाई स्वयम्भु व्यवस्थापन तथा संरक्षण समिति र युनेस्कोको सहयोगमा पुरातत्व विभागको निर्देशनमा पुनःनिर्माण कार्यहरु भइरहेका छन् ।

 

महाचैत्यको वरिपरि रहेका महत्वपूर्ण सम्पदाहरुमध्ये पूर्ण रुपमा क्षति भएको मंगलबहूद्वार चैत्य पनि एक हो जसमा ३३ कोटी देवता रहेको मानिन्छ । स्वयम्भु महाचैत्य निर्माण हुँदा विभिन्न देवताहरु मानिसको भेषमा आई चैत्य निर्माण कार्यमा सहभागी भएका थिए भनिन्छ । यसैको स्मृतिमा ३३ कोटी देवताहरुको प्रतिक यस मंगलबहूद्वार चैत्य निर्माण भएको थियो । यो मन्दिर पनि पहिला जस्तो थियो त्यस्तै रुपमा युनेस्को र स्वयम्भु व्यवस्थापन समितिको संयुक्त लगानीमा बनेको छ ।

 

स्वयम्भु महाचैत्य परिसरमा रहेको तान्त्रिक महत्वपूर्ण मन्दिरको रुपमा शान्तिपुरलाई लिईन्छ । यो मन्दिर शान्तिकराचार्यले निर्माण गरेका थिए पछि उनी यसै मन्दिरमा अस्फानिक योगमा बस्नु भएको मानिन्छ । यस मन्दिरको पुनःनिर्माण ८० प्रतिशत पूरा भइसकेको उहाँ बताउनुहुन्छ । शान्तिपुर पुनःनिर्माणको लागि त्यहींकै स्थानीय देखा भएका बुद्धाचार्यहरु र पाटनका देखा भएका कलाकारहरु भित्र गएर काम गरिरहेको कलाकार मदन शाक्य बताउनु हुन्छ । उनका अनुसारे यो मन्दिर ३ तल्लाको रहेको र भूकम्पले भित्र पूरै क्षति भएको थियो । माँ अप्पा र राम्रो खालको माटो प्रयोग भएको उहाँ बताउनु हुन्छ ।

 

स्वयम्भु महाचैत्य परिसरमा रहेका सम्पदाहरुमध्ये परिसर भित्र रहेको दुईवटा गुम्बा मध्ये देवाधर्म गुम्बा पुनःनिर्माण भईरहेको छ भने कर्मराज गुम्बा अहिलेसम्म पुनःनिर्माण हुनसकेको छैन । कर्मराज गुम्बा कर्मपा सम्प्रदाय अन्र्तगत पर्ने र उनीहरुले नै बनाउने भन्ने आश्वासन दिएको उहाँ बताउनु हुन्छ ।

 

विश्व सम्पदा सूचीमा रहेको यस स्वयम्भु महाचैत्य, ३ करोडको लगानीमा तदारुकताका साथ जिर्णोद्धार गर्न स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमिति लागी परेका छन् । महासमितिले पर्यटकहरुबाट उठाएको पैसाले यी सबै कार्यहरु गरिरहेको जानकारी दिनुभयो । महासमितिको यस कामलाई सम्बन्धित पक्षले ध्यान दिई सहयोग गरेको खण्डमा स्वयम्भु महाचैत्य परिसर भूकम्प जानु अगाडि जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा देख्ने चाहना पूरा हुन अब धेरै समय कुर्नु पर्दैन ।

2 years ago/Friday, March 1st, 2019 /