अनागारिकाहरुको भिक्षाटन कार्यक्रम सम्पन्न

बोधी संवाददाता

ललितपुर, फागुन ७ । हःखास्थित धम्मसाकच्छा संघको आयोजनमा अनागारिकाहरुको भिक्षाटन कार्यक्रम सम्पन्न भयो ।
पुल्चोकको नःटोलस्थित मदन स्मारक स्कूलबाट शुरु भएको उक्त भिक्षाटन गाबहाल, बुबहाल, नकबहिल, न्याखाचोक, मंगलबजार, ओकुबहाल, गुजिबहाल हुँदै हःखा टोल भवन पुगेर समाप्त भएको थियो ।
विगत १६ वर्ष अघि स्थापना भएको यस धम्मसाकच्छा संघले विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आएकोमा यस वर्ष पहिलो पटक अनागारिका गुरुमाँहरुको स्वास्थ्य कोषमा जम्मा हुने गरि यस भिक्षाटन कार्यक्रमको आयोजना गरेको संघका उपाध्यक्ष कुलमान शाक्यले बताउनुभयो ।
स्वास्थ्य कोष स्थापना कवि चित्तधर हृदयकी भतिजी सुमना गुरुमांको ईच्छा अनुसार डा.केशरी लक्ष्मी मानन्धरले ५ लाखबाट शुरु गर्नु भएको थियो । हाल ११ लाख रकम कोषमा जम्मा भईसकेको र काठमाडौं मोडल हस्पिटलसंग समन्वय गरी स्वास्थ उपचारको व्यवस्था गरिरहेको अनागारिका संघका सहसचिव अनागारिका ञाणवती गुरुमांले बताउनु भयो ।
हःखा भवन पुगेर समाप्त भएको उक्त कार्यक्रमपछि भिक्षाटनमा सहभागी हुनु भएका अनागारिका गुरुमांहरुलाई वस्त्रदान पनि गरिएको थियो । सो वस्त्रदानबाट प्राप्त सम्पूर्ण जिन्सी र रकम लुम्बिनीको देवदहनगरपालिकामा निर्माण हुन लागेको अनागारिकाहरुको विहारको लागि प्रयोग गरिने पनि उनले जानकारी दिनुभयो ।

BMS