तेस्रो अन्तर भजन प्रस्तुति सम्पन्न

बोधी संवाददाता
ललितपुर, पुस १८ ।
ज्ञानोदय ज्ञानमाला भजन संघको आयोजनामा तेस्रो अन्तर भजन प्रस्तुति रत्नाकर महाविहारमा सम्पन्न भयो ।
यल ज्ञानमाला समितिको समन्वय गरी आयोजना भएको उक्त कार्यक्रममा ज्ञानोदय ज्ञानमाला भजन संघ, हखःबाहा,तारेमाम भजन संघ, नागबाहा, सप्तपुर ज्ञानमाला भजन खलः, चिकंबहि र युवक बौद्ध मण्डल भजन खल, किणुबहिले आ आप्mनो भजनहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा यल ज्ञानमाला भजन संघका सल्लाहकार सिद्धिरत्न बज्राचार्यले ज्ञानमाला भजनको महत्वबारे प्रकाश गर्दै नेपालमा ज्ञानमालाको विकासक्रमलाई हेर्दा, काठमाडौंको स्वयम्भु ज्ञानमाला भजन खलः पछि पाटनमा सबैभन्दा पहिला ७५ वर्ष अघि तारेमाम भजन संघको स्थापना भएको बताउनु भयो साथै ज्ञानमाला भजनको विकास गर्नमा भिक्षु महाप्रज्ञा, भिक्षु प्रज्ञानन्द, भिक्षु अमृतानन्द महास्थविरहरुको ठूलो योगदान रहेको पनि बताउनु भयो ।
संघका अध्यक्ष रिद्धिराज बज्राचार्यले अतिथिहरुलाई खादा ओढाई स्वागत गर्नुभएको उक्त कार्यक्रममा यल ज्ञानमाला भजन समितिका अध्यक्ष डबल बहादुर शाक्यले आप्mनो मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा रत्नाकर महाविहारका दशकर्म आजुहरु, युवक बौद्ध मण्डलका अध्यक्ष अर्नितारा बज्राचार्य, वरिष्ठ गायक एवं संगीतकार अमरराज शर्मा, रत्नाकर महाविहार मिसा पुचःका अध्यक्ष सबिता बज्राचार्य लगायत विभिन्न भजन खलःका सदस्यहरुको उपस्थिति रहेको थियो ।
ज्ञानोदय ज्ञानमाला भजन संघ वि.सं २०२४ सालमा स्थापना भएको थियो । यस संघले विभिन्न समयमा ज्ञानमाला भजनहरु प्रस्तुत गर्दै आईरहेको छ साथै गत वर्ष २५६२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा नयाँ प्रशिक्षार्थीहरुलाई ज्ञानमाला प्रशिक्षण गरेको थियो । गत ३ वर्ष देखि यस संघले यस किसिमको प्रस्तुति गर्दै आइरहेको छ ।

 

2 years ago/Wednesday, January 2nd, 2019 /