बोधिसत्वमा नेवार कलाकारहरुको बौद्धकला प्रदर्शित

बोधी संवाददाता
ललितपुर, माघ १७ । ललितपुरको पुल्चोकस्थित वोधिसत्व ग्यालरीमा ज्वेल्स अफ नेवार आर्ट नामक प्रदर्शनी भएको छ ।
प्रदर्शनीमा अधिकांश बुद्धधर्मसँग सम्बन्धित नेवार शैलीका पौभा चित्र, धातुमूर्ति कला, काष्ठ कला, प्रस्तर कला, फिलग्री, थ्वज्या माज्या तथा बहूमुल्य धातुबाट बनाइएका सुन्दर मौलिक कलाकृतिहरु राखिएका छन् ।
काठमाडौं उपत्यका भित्र रहेका मौलिक नेवार आर्टलाई देश भित्र र विदेशमा समेत पहिचान दिलाउन यो कला प्रदर्शनी गरिएको ग्यालरीका निर्देशक प्रज्वल शाक्यले बताउनु भयो । उनका अनुसार यस किसिमको मौलिक नेवार आर्टहरु अहिलेसम्म छ भनेर देश भित्रका कतिपय मानिसलाई थाहा छैन त्यसकारण सबभन्दा पहिलो प्राथमिकता भनेको हाम्रै देश भित्र नेवार आर्टलाई प्रवर्धन गर्नु रहेको छ । यहाँका ३ वटा कला भियनाको वेल्ट युजियममा भईरहेको अन्र्तराष्ट्रिय स्तरको प्रदर्शनीमा छनोट हुनुले नेवार आर्ट अन्तर्राष्ट्रिय स्तरसम्म पुगेकोमा गर्व गर्न सकिन्छ । ७० भन्दा बढी कलाकारहरुको मौलिक कलाकृतिहरु एकै ठाउँमा संकलन गरी प्रदर्शन गरिएको यो पहिलो प्रदर्शनी हो ।
प्रदर्शनीमा वरिष्ठ पौभा चित्रकार प्रेममान चित्रकार, लोक चित्रकार, दिपक जोशी, समुन्द्रमान सिंह श्रेष्ठ, उदय चरण श्रेष्ठ, उजय बज्राचार्य लगायत धातुमूर्तिकलाका प्रख्यात कलाकारहरु राजेस अवाले, राजन शाक्य, विजय शाक्य, फल्समान शाक्य तथा फिलग्रीका प्रदीप शाक्य लगायत अरु दर्जनौं कलाकारहरुको कलाकृति राखिएका छन् ।
यस प्रकारको कला प्रदर्शनीले युवा कलाकारहरुलाई प्रोत्साहन मिलेको आफुलाई चिनाउन सफल भएको कुरा कलाकारहरुले बताउनु भयो । कला र कलापारखीलाई एकै स्थानमा ल्याएर कलाको उचित मूल्यांकन गर्न वोधिसत्व आर्ट ग्यालरीले महत्वपूर्ण भूमिका खेलेको र कलाकारहरुका लागि प्लाटफर्म दिएको उनीहरुको भनाई रहेको छ ।
४ दशक अगाडि ग्यालरीका संस्थापकद्वय पूर्णमान शाक्य र अन्जना शाक्यको प्रयासले आज यस वोधिसत्व आर्ट ग्यालरीको जन्म भएको छ । यसभन्दा अगाडि सन् २०११ मा पहिलो पटक सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी गर्दा नेवार आर्टको कला पारखीहरुले निकै प्रशंसा गरेकोले आफुहरुलाई हौसला मिलेको आर्ट कलेक्टर अन्जना शाक्य बताउनुहुन्छ । यसपछि सन् २०१६ मा नेपाल आर्ट ग्यालरीमा समुन्द्रमान सिंह श्रेष्ठको एकल कला प्रदर्शनी गरेको यस ग्यालरीले आउँदा दिनमा पनि यस्तै नवयुवा कलाकारहरुको कला प्रदर्शनी गर्दै जाने बताउनु भयो ।
वोधिसत्व ग्यालरी व्यावसायिक संस्था भए पनि उत्कृष्ट कलालाई सदैव प्रोत्साहन र प्रवद्र्धन गर्ने प्रज्वल शाक्यले बताउनु भयो । ग्यालरीलाई अन्र्तराष्ट्रिय स्तरको बनाउन आवश्यक तापक्रम तथा लाईटको व्यवस्था गरिएको छ भने दुई तल्ला मध्ये पहिलो तल्लामा ईच्छुक व्यक्ति संघसंस्थाले ग्यालरी प्रयोग गर्न सकिने र तल्लो तल्ला वोधिसत्वको स्थायी ग्यालरीको रुपमा बनाइएको छ ।

bs

2 years ago/Thursday, January 31st, 2019 /