हिरण्यवर्ण महाविहारमा कारण्डव्यूह पूजा

बोधी संवाददाता
ललितपुर, माघ १६ । हिरण्यवर्ण महाविहारको अमोघपास गुम्बामा करुणामयको कारण्डव्यूह पूजा सोमबार सम्पन्न भयो ।
ताईवानका  १५० जना उपासक उपासिकाहरु र बेलायतका नागरिक एलेक्जेण्डरको अनुरोधमा उक्त पूजा गरिएको थियो । पूजामा शैलेस बज्राचार्य मूल पुरोहित र अरु ४ जना सहायक गुरुजुहरुले सामूहिक रुपमा पाठ गर्नु भएको थियो ।
ललितपुरमा बुंगद्यः अर्थात् करुणामयलाई पुल्चोकस्थित रथमा विराजमान गराएदेखि गाबहाल, सुन्धारा, लगनखेल र जावलाखेलमा पुर्याएर भोटो जात्रा गराउने बेलासम्म कारण्डव्यूह सूत्र पाठ गर्ने परम्परा रहेको हिरण्य वर्ण महाविहारका दिपक बज्राचार्यले बताउनुभयो ।
कारण्डव्यूह पाठ गर्दा करुणामयमा भएको चार गुण मैत्री, करुणा, मुदिता र उपेक्षा हामीमा पनि वृद्धि हुने उहाँको भनाई छ । यसकारण करुणामय जहाँ जहाँ विराजमान हुनु हुन्छ अथवा मूर्ति भएको स्थानमा पूजा गरी सूत्र पाठ गर्ने चलन रहेको छ ।
झण्डै १ सय १२ पेज रहेको उक्त सूत्र पाठ गर्न पाँच जना गुरुजुहरुले एक घण्टा लगाएर उक्त सूत्र पाठ गर्नु भएको थियो ।
सूत्र पाठ गर्न अगाडि गुरुजुहरु र जजमानहरुले संयुक्त रुपमा पूजाथाल संकल्प गरी पाठ गर्ने ग्रन्थ पूजा गुरुमण्डल पुजा गरी सकेपछि सामुहिक रुपमा पाठ शुरु गर्नु भएको थियो । पूजाको अन्तमा गुरुजु र जजमानहरु बसी किवः पूजा गरिसकेपछि पूजा समाप्त भएको थियो ।

bs