देशभरी परियत्ति परीक्षाको प्रारम्भ

बोधी संवाददाता ।
काठमाडौं, माघ ७ । अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं २५६२ को प्रारम्भिक प्रथम वर्ष देखि प्रवेश तृतीय वर्षको परिक्षा माघ ५ गते देखि नेपालभरी शुरु भएको छ ।
परिक्षाको लागि यस वर्ष ७३ वटा परियत्ति केन्द्रबाट ३३७७ जना विद्यार्थीहरुले आवदेन फाराम भरेको नेपाल बौद्ध परियत्ति शिक्षा केन्द्रको केन्द्रिय कार्यालयबाट जानकारी प्राप्त भएको छ । उपत्यकाका विभिन्न जिल्ला मध्ये काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे तथा उपत्यका बाहिर नवलपरासी, पाल्पा, गुल्मी, तनहुँ, स्याङ्जा कपिलवस्तु, कास्की, सुर्खेत, सुनसरी, झापा गरी ६५ वटा परियत्ति केन्द्र तथा ८ वटा प्राईभेट स्कूलहरुबाट विद्यार्थीहरुले परियत्ति शिक्षाको जाँच दिएका छन् । ती मध्ये भक्तपुरको एभरेष्ट ईग्लिस स्कूलबाट सबभन्दा धेरै ३१३ जना विद्यार्थीहरुले परियत्ति शिक्षाको जाँच दिएका छन् ।
परियत्ति शिक्षा वि.सं २०१९ सालमा नुवाकोटको सुगतपुर विहारमा भिक्षु बुद्धघोष महास्थविरको अथक प्रयासबाट अनागारिका सुशिला र उपासक धर्मरत्न शाक्यले शुरुवात भएको थियो । पछि वि.सं २०२० सालमा अखिल नेपाल भिक्षु महासंघले औपचारिक रुपमा संघमहानायक प्रज्ञानन्द महास्थविरको ६३ औं जन्मोत्सवको उपलक्ष्यमा बैसाख ५ गते अक्षय तृतीयाको दिनबाट विधिवत रुपमा शुरु भएको थियो । यसको समाचार रेडियो नेपालबाट पहिलो पटक प्रसारण भएको थियो ।
आप्mनो ५० वर्षको यात्रामा नेपाल बौद्ध परियत्ति शिक्षाले हजारौं विद्यार्थीहरुलाई परियत्ति शिक्षा अध्ययन गर्ने सुअवसर प्राप्त गराईसकेको भएता पनि अहिले सम्म यस शिक्षाले सरकारी मान्यता प्राप्त गर्न सकेको छैन । केन्द्रले यस विषयमा पहल गर्नु अत्यन्त जरुरी देखिन्छ ।
शुरुवातका दिनमा पाठ्यक्रमको अभावका कारण विद्यार्थीहरुले धेरै समस्या भोग्नु परेको भएता पनि अहिले नेपालभाषा, नेपाली दुवै भाषामा पाठ्यपुस्तकहरु उपलब्ध भएकाले विद्यार्थीहरु सजिलो भएको छ भने अन्य धर्मावलम्बीका विद्यार्थीहरु समेत परियत्ति शिक्षा अध्ययन गर्नु गौरवको कुरा हो ।
यस वर्ष कोविद अन्तिम वर्षको परिक्षा माघ १२ गते शनिवारदेखि शुरु हुँदैछ । कोविद अन्तिम वर्ष को लागि जम्मा १४ जना विद्यार्थीहरुले आवेदन फाराम भरेका छन् ।