बौद्ध पुस्तक मेला सम्पन्न

बोधी संवाददाता
ललितपुर, माघ ४ । युवक बौद्ध मण्डल अन्तर्गत गोल्डेन क्लब उपसमितिको आयोजनामा वाइएमबिए को प्राङ्गणमा छैठौं बृहत बौद्ध पुस्तक प्रदर्शनी तथा विक्री मेला सम्पन्न भयो ।
माघ २ देखि ४ गते सम्म भएको तिन दिने उक्त पुस्तक प्रदर्शनीमा बुद्ध र बुद्ध धर्मसम्बन्धी, नेपालभाषा, नेपाली, अंग्रेजी र हिन्दी भाषाका सयौं पुस्तकहरु प्रदर्शनमा राखिएको थियो ।
नेपालीहरुको पुस्तक पढ्ने बानी बढाउन तथा बुद्ध धर्म प्रचार प्रसार गर्ने मुख्य उद्देश्यल,े युवक बौद्ध मण्डलका जेष्ठ सदस्यहरुको समूह गोल्डेन क्लबबाट प्रत्येक वर्ष यस पुस्तक प्रदर्शनीको आयोजना गर्दै गरेको प्रदर्शनीका संयोजक तेजमुनी बज्राचार्यले बताउनु भयो ।
उक्त प्रदर्शनीमा विश्वशान्ती विहार, लोटस रिसर्च सेन्टर, नार्गाजुन बौद्ध ईन्ष्टिच्यूट तथा नेपाल विपश्यना केन्द्र आदि विभिन्न बौद्ध संघसंस्थाबाट प्रकाशन भएका त्रिपिटक ग्रन्थहरु, विपश्यना सम्बन्धी पुस्तकहरु प्रदर्शनमा राखिएको थियो ।
त्यसै गरि बौद्ध विद्वानहरु दुण्ड बहादुर बज्राचार्य, दोलेन्द्र रत्न शाक्य, रत्न सुन्दर शाक्य, मुनीन्द्र रत्न बज्राचार्य, मीन बहादुर शाक्य, वसन्त महर्जन लगायत अरु लेखकहरुले प्रकाशन गर्नु भएको बौद्ध ग्रन्थहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा बुद्धिष्ट स्कलरहरु, अन्वेषकहरु तथा विभिन्न कलेजका विद्यार्थीहरु तथा अन्य ईच्छुक महानुभावहरु प्रदर्शनीमा सहभागी हुनु भएको थियो ।

2 years ago/Monday, January 21st, 2019 /