बौद्ध महास्तुपमा सम्पदा क्षेत्रका संस्थाहरुको सरोकार

बोधी संवादाता
काठमाडौं, पुस १९ । विश्व सम्पदा सूचीमा सुचिकृत बौद्ध महास्तुप अथवा खास्तिमा हालै त्यसको स्वरुपलाई विकृत पार्ने काम गर्न थालिएकोेमा त्यहाँका स्थानीय बासिन्दा तथा सम्पदा क्षेत्रका संस्थाहरुले सरोकार देखाएका छन् ।
गएको हप्ता गुठी संस्थानले नियुक्त गर्ने चिनियाँ लामासँग सम्बन्धित बौद्ध घ्याङ गुठीले बौद्ध महाचैत्यमा ड्रिल गरेर किल्ला ठोकेर झिलिमिली बत्ती राख्ने काम गरेको थियो । यस विषयमा नेपाल बौच महासंघले विज्ञप्ति निकालेर विरोध जनाएको थियो ।
यसै विषयमा बिहिबार त्यहाँका विभिन्न संघसंस्था भेला भएर यहाँ यस्तो अवान्छनीय क्रियाकलाप हुन नदिन माग गरेका छन् ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खडगीले बौद्ध भनेको युनेस्को द्वारा विश्व सम्पदा सूचीमा सुचिकृत भएकोले यसमा कसैले आफुखुशी सिंगारपटार गर्ने भन्दा पनि यसको मौलिक सुन्दरतामा आँच आउने काम कसैले गर्न नहुने बनाउनुभयो ।

 

उहाँले भन्नुभयो, “पहिले जसले जे गरेपनि अब जनता आफै चेतनशिल र जागरुक भएकोले अब यस्तो गर्न हुँदैन । सबै मिलेर यहाँको धार्मिक र साँस्कृति वातावरणलाई जोगाउनु पर्दछ ।”
त्यसपछिस्थानीय समाजसेवीहरुले महाचैत्य माथि गएर शान्तिको प्रतीक परेवा उडाएर यहाँको संरक्षणमा समन्वयको संकल्प गरे ।
यसका साथै उपमेयर लगायतका समुहले त्यहाँ निकाल्न बाँकी रकेहका केही किल्लाहरु पनि निकाले र सम्पदा क्षेत्रलाई सुन्दर तथा मौलिक बनाइराख्न सबैसँग आग्रह गरे ।
यस विषयमा बोधी टेलिभिजनसँग कुरा गर्दै पूर्व राजदूत डा. गणेश योन्जनले बौद्ध भनेको देशभरिका बौद्धहरुको आराध्य स्थल भएकोले यसको मौलिकता जोगाउनु अति महत्वपूर्ण भएको भन्दै यहाँ कार्यरत सबै धार्मिक तथा सामाजिक संस्थाहरुको समन्वय जरुरी भएको बताउनुभयो ।

 

त्यस्तै बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खडग जीत लामाले यहाँ विशेष गरी बौद्ध घ्याङ गुठीको अहम र एकाधिकारका कारण अन्य संघसंस्थाहरुसँग समन्वय नगरेको कारणले एक प्रकारको द्वन्द्व सिर्जना भएको बताउँदै यहाँ राज्यले समन्वकारी भूमिका खेल्नुपर्ने र एउटा गुरुयोजना बनाएर यसको विकास तथा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा स्थानीय राजनीतिकर्मीहरु, सामाजसेवी तथा स्कुल तथा कलेजका विद्यार्थीहरुको समेत सहभागिता थियो ।