महाबोधी मन्दिर परिसरमा चौधौं त्रिपिटक पाठ समापन

राजेन मानन्धर
बोधगया, विहार (भारत), मंसिर २६ । दश दिनदेखि यहाँ भगवान बुद्धले बोधिज्ञान लाभ गर्नुभएको महाबोधी मन्दिर परिसमा चलिरहेको  चौधौं त्रिपिटक पाठ कार्यक्रम आज समापन भएको छ ।

विशेष गरी थेरवाद बुद्धधर्मको बाहुल्यता भएका देशहरुबाट २५ हजार भन्दा बढी बौद्धहरु यस कार्यक्रममा सहभागी भएको थिए ।

समापन कार्यक्रममा बोल्दै नेपालका तर्फबाट अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालका भिक्षुहरु यसरी बोधगयामा बोधिवृक्षको मनि सबै देशका भिक्षहरुसँग बसेर एकै स्वरमा त्रिपिटक पाठ गर्न पाउनु भनेको नै खुशीको कुरा भएको बताउनुभयो ।

यसका साथै विभिन्न देशका भिक्षु संघको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरिएको थियो ।

अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परिषदका लागि वाङ्मो डिक्सेले बोधिवृक्षको मुनि यसरी विभिन्न देशका बौद्ध भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरु बसेर त्रिपिठक पाठ गरेको हेर्न पाउँदा आफ्नो कुनै सपना साकार भएको जस्तो अनुभव भएको बताउनुभयो ।

गत मंसिर १६ गतेदेखि शुरु भएको यस त्रिपिटक पाठ कार्यक्रममा करिब ३० देशका हजार भन्दा बढी भिक्षु भिक्षुणी, उपासक उपासिकाका साथै लामा तथा आनीहरुले पनि भाग लिनुभएको थियो ।

हरेक दिन विहान ५.३० बजे देखि शुरु हुने उक्त कार्यक्रममाम बेलुका ६ बजेदेखि ९ बजेको धर्मदेशनाबाट समापन हुने गरेको थियो । उक्त अवधिभरी थाइल्याण्डका फ्रा प्रोम वाचिरायन, प्रामह वुत्तिचाइ वाचिरमती, फ्राउदी वत्तियानो, आजान अचलो, कस्सप भन्ते, संयुक्त राज्य अमेरिकाका भिक्षु उपरतन तथा म्यानमारका भिक्षु त्रिपिटकधरले धर्मदेशना दिनुभएको थियो ।
अन्य भाषामा प्रस्तुत गरिएका धर्मदेशनालाई हिन्दी तथा अंग्रेजी भाषामा उल्था गरेर समेत सुनाउने गरिएको थियो ।

यस बार्षिक कार्यक्रममा लागि नेपाल लगायत, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भियतनाम, लाओस, इन्डोनेशिया तथा अन्य देशहरुबाट हजारौंको संख्यामा भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरु भेला भएर त्रिपिटकका विभिन्न गाथाहरु पाठ गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परिषदले सन् २००६देखि यस महाबोधी मन्दिरमा वार्षिक रुपमा यसै बेला त्रिपिठक पाठ गर्ने परम्परा थालेको थियो ।