लुम्बिनीमा भद्रचर्या उत्सव समापन

रत्नकाजी महर्जन ।
लुम्बिनी, रुपन्देही, मंसिर १० । भगवान बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा सम्पूर्ण प्राणीका हितका लागि परमपावन साक्या धुङ्से अभिकृत वज्र रिम्पोछेको अध्यक्षतामा भएको भद्रचर्या उत्सव हालै सम्पन्न भयो ।
संसारभरका सबै प्राणीको हित तथा विश्वमा शान्ति होस् भन्ने कामनाका साथ गरिने यस वार्षिक उत्सवमा विद्याधर आचार्य महायोगी राणा रिम्पोचे लगायत नेपालका विभिन्न जिल्लाबाट आएका हजारौं लामा भिक्षु, आनी तथा बौद्ध उपासक उपासिकाहरुको जमघट भएको थियो । कार्यक्रम अवधिभर महायान बुद्ध धर्म अन्तर्गत साक्य परम्परागत सँग सम्बन्धित अनुयायीहरुको विषेश घुइँचो रहेको थियो । यस बाहेक चीनियाँ बाैद्ध तीर्थयात्रीहरुकाे पनि उल्लेख्य सहभागिता देखिएकाे थियाे ।
मंसिर ४ गतेदेखि ८ गतेसम्मका सञ्चालित उक्त कार्यत्रम अवधिभर ४ गते कार्यक्रमको परिचय सहित प्रार्थना एवं गुरुपूजा भयो । ५ गते धर्म देशना, प्रार्थना र ध्यान तथा मैत्रीय बुद्धपूजा गरियो । ६ गते प्रार्थना र ध्यानका साथै वैश्य धर्म देशना तथा पूजा गरियो ।
त्यसपछि ७ गतेको दिन प्रार्थना र ध्यानको नियमित कार्यक्रमका साथै मारिची फेलेशिपको कार्यधmम पनि सञ्चालन गरिएको थियो । त्यसै दिन करकुल्ला गणचक्र लक्ष्मी पूजा पनि गरिएको थियो ।
अन्तिम दिन ८ गते अभिकृत वज्र रिम्पोछेले उपस्थित सबैलाइै अभिषेक अथवा वाङ दिनुभयो । यस अछि अन्तिममा महाकालको पूजा गरेर यस वर्षको भद्रचर्या उत्सवको समापन गरिएको थियो ।
यसै अवसरमा स्थानीय गरीब समुदायमा गएर जाडौ यामका लागि आवश्यक कम्बल पनि वितरण गरिएको थियो ।

कार्यक्रम भद्रचर्या फाउन्डेसनको आयोजनामा सम्पन्न भएको थियो ।