अर्को वर्ष निरन्तरता दिने निर्णयसँगै ऐतिहासिक त्रिपिटक पाठ समापन

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, कार्तिक ३० । तीन दिनसम्म बुद्ध जन्मभूमि लुम्बिनीमा भइरहेको बु्द्ध बचनहरुको सँगालो त्रिपिटक पाठ आज साँझ दीप यात्रा सँगै समापन भएको छ ।
नेपालमै पहिलो पल्ट भएको यस कार्यक्रम आज साँझ आयोजकद्वय अखिल नेपाल भिक्षु महासंंघ तथा शाही थाइ बौद्ध विहारका प्रतिनिधिहरुले अर्को वर्ष यही मितिमा अर्थात (२०७६ कार्तिक २८, २९ र ३० गते) पुनः यसै प्रकारले तीनदिनसम्म विभिन्न देशका भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरु सम्मिलित भइ त्रिपिटक पाठ आयोजना गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै शाही थाइ बौद्ध विहारका प्रमुख भिक्षु बोधीश्री सुपोथले नेपालस्थित बुद्ध जन्मभूमिमा यस प्रकारको कार्यक्रम आयोजना हुनु भनेको विश्वभरका बौद्धहरुका लागि गौरवको विषय भएको बताउनुभयो ।
समापन समारोहका सहअध्यक्ष तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले नेपालमा नेपालीहरुको व्यापक सहभागितामा यस प्रकारको ऐतिहासिक त्रिपिटक पाठको कार्यक्रम आयोजना गर्नु भनेको नेपालको बुद्धधर्मको इतिहासमा नै नौलो तथा महत्वपूर्ण घटना भएको बताउनुभयो । उहाँले यस कार्यक्रमको आयोजनामा शाही थाइ बौद्ध विहारको सहआयोजना तथा लुम्बिनी विकास कोषको सराहना गर्नुभयो ।
यस अघि दाता वाङ्मो डिक्सेले आजको दिनमा बुद्धबचनहरु सुन्नपाउनु भनेकै निकै दुर्लभ तथा अमूल्य भएको बताउनुभएको थियो । साथै उहाँले बुद्धधर्मका सबै निकायका भिक्षु भिक्षुणी तथा उपासकउपासिकाहरु एकै ठाउँमा जम्मा भएर धर्मकार्यमा सहभागिता जनाउनुले बौद्धहरु एक भएर परिवारका सदस्यहरु जस्तै बुद्धशिक्षालाई मनन गर्नु भनेको शक्तिशाली हो र यो शक्ति नै भगवान बुद्धको आशिर्वादको रुपमा हेरिनुपर्छ भन्नुभयो ।

त्यस्तै समापन कार्यक्रमको अन्त्यमा धन्यवाद दिने क्रममा आयोजकहरु तथा सहभागी भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुको सहभागिता तथा योगदानको पनि कदर गर्नुभयो अनि बोधी टेलिभिजनकाे सहयोगले पनि यो कार्यक्रम विश्वव्यापी हुन सकेकोमा आभार व्यक्त गर्नुभयो ।
कर्यक्रमको अन्तमा आयोजकका तर्फबाट भिक्षु मैत्रीले यस कार्यक्रमको आयोजनमा सक्रिय योगदान दिने वाङ्मो डिक्सेलाई मायाको चिनो पनि उपहार दिनुभयो ।

 

तीन दिनको कार्यक्रम अनुसार पहिलो थाइ भिक्षुहरुको नेतृत्वमा पाठ भयाे । भोजन पछि नेपाली भिक्षुहरुको नेतृत्वको सत्र शुरु भयाे । त्यसपछि क्रमशः बर्मा, श्रीलंका र क्याम्बोडियाका भिक्षुहरुको नेतृत्वमा पाठ भयाे। दोश्रो दिनको सत्रको नेतृत्व महायनी अथवा हिमाली लामाभिक्षुहरुले गर्नुभयाे । यसपछि चीनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वको सत्र चल्याे । तेश्रोदिनमा थाइ भन्तेहरुको नेतृत्वमा पाठ शुरु भयाे । पछिको सत्रमा नेपाली आनागारिकाहरु र आनीहरुले पाठको नेतृत्व लिनुभयाे । तेश्रो दिनको पाठ सकिएपछि त्यहाँ पाठ कार्यक्रममा सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरको वरिपरी मैनबत्ती सहितको शान्ति पदयात्रा तथा दीप प्रज्वलन कार्यक्रम भयाे ।

तीनदिन सम्म चलेकाे त्रिपिटक वाचन कार्यक्रममा १८ देशका लगभग ५ सय भिक्षु लामा अानी अनागािरकाको उपस्थिति भएकाे आयोजकहरुले बताएका छन् ।

 

यस कार्यक्रमको प्रत्यक्ष प्रशारण तीनै दिन बोधी टेलिभिजनबाट भएको थियो ।

2 years ago/Friday, November 16th, 2018 /