दीपक जोशीमा बौद्ध पौभाचित्रहरु प्रदर्शनमा

बोधी संवाददाता
कठमाडौं, कार्तिक २७ । विशेष गरी काठमाडौं उपत्यकाका नेवारहरुको मौलिक शैलीमा बनाइएको बुद्ध धर्मसँग सम्बन्धित पौभा चित्रहरुका एक चुनिएका चित्रकार दीपक कुमार जोशीका चित्रकलाहरुको एकल प्रदर्शनीको आज यहाँ उद्घाटन भयो ।

संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटनबाट उद्घाटन गरिएको उक्त प्रदर्शनीमा करिब चार दर्जन विभिन्न आकारका चित्रकलाहरु प्रदर्शित छन् ।

विशेष गरी शाक्यमुनि भगवान बुद्ध तथा महायान एवं वज्रयानमा उल्लेख गरिएका विभिन्न देवी देवताका साथै केही प्रमुख मण्डलहरुको पनि चित्र प्रदर्शनमा परेका छन् ।

कार्यक्रममा बोल्दै सत्यमोहन जोशीले पौभा नेपालकै मौलिकता देखाउने कला शैली भएको र यसको जगेर्ना गर्ने कलाकारहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । यसका साथै उहाँले नेपाल कला परिषद्को जन्म भएको प्रसंग उल्लेख गर्दै सबै कलाकारहरुले यसलाई जीवन्त संग्रहालय बनाउन योगदान दिन पनि आह्वान गर्नुभयो ।

कलाकार जोशीले आफुले विभिन्न समयमा कोरेका चित्रहरु आज यसरी एकै ठाउँमा ल्याएर प्रदर्शन गर्न पाउँदा निकै खुशी भएको बताउनुभयो । उहाँले यसरी बुद्धधर्मसँग सम्बन्धित चित्रहरुको माध्यबाट नेपाललाई चिनाउन पाउनु भनेको गर्वको विषय भएको पनि बताउनुभयो ।
सन् १९६३ मे १८मा काठमाडौंमा जन्मनुभएका कलाकार जोशी बाल्यकालदेखि नै चित्रकलामा रुची राख्नुहुन्थ्यो । पछि उहााले प्रेममान चित्रकारसँग पौभा चित्रकला सिक्नुभयो ।

यसबाहेक उहाँले बुद्धधर्मको पनि गहिरो अध्ययन गर्नुभएको छ । उहााले वज्रयान बौद्ध अभ्यासमा पं बद्री गुरुज्युबाट दीक्षा लिनुभयो भने श्रीधर राणा ज्यूको पनि शिष्य हुनुहुन्छ । उहालो बौद्ध कला र बौद्ध धर्म दर्शनमा पनि प्रवचन दिँदै आउनु भएको छ ।

प्रदर्शन कार्तिक ३० गतेसम्म जारी रहने छ ।