अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा कथिन चीवर दान सम्पन्न

बोधी संवाददाता
कठमाडौं, कार्तिक २५ । शंखमुल स्थित  अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको ३३ औं वार्षिक उत्सव तथा कथिन चीवर दान शनिवार सम्पन्न भयो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विहारका अध्यक्ष प्रत्येक रत्न ताम्रकारले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव ललिता धाख्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कर्मस्थानाचार्य श्रद्धेय सयादो ऊ इन्दक स्थविरले कथिन चीवरको महत्वबारे धर्मदेशना गर्नुभएकोलाई अनागारिका विमलञाणीले नेपालभाषामा अनुवाद गर्नुभएको थियो ।
मलेसियाबाट आउनुभएका खेमानन्दी गुरुमां, उनको समूह र चाईना कथिन समूहबाट संयुक्त रुपमा कथिन चीवर दान गर्नुभएको थियो ।
३८ जना कथिन दाताहरुले कथिन चीवर दान र १४७ जना दाताहरुले अष्टपरिष्कार दान गर्नुभएको थियो ।
कार्यक्रममा विहारको तर्पबाट अध्यक्षले कथिन दाताहरुलाई बुद्धको मूर्ति उपहार स्वरुप प्रदान गर्नुभएको थियो । त्यसैगरि ३ महिनासम्म ध्यान बस्नु भएका भिक्षु नारदलाई उपसंघनायक श्रद्धेय भिक्षु ज्ञानपूर्णिक महास्थविरले उपहार प्रदान गर्नु भयो ।
कार्यक्रमको विहारका उपाध्यक्ष मदन रत्न मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा पण्यानुमोदनका साथै उपस्थित सम्पूर्ण भिक्षु, अनागारिकाहरुलाई दान प्रदान गरिएको थियो ।

बुद्ध विहारका प्रमुख भिक्षु कौण्डण्य, सुत्तिक र धम्मिक स्थविरहरु ३ महिनासम्म वर्षावास पूरा गर्नु भएको उपलक्ष्यमा कथिन चीवर दान कार्यक्रम सम्पन्न भयो ।
अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष श्रद्धेय बोधिसेन महास्थविरबाट शील प्रदान गरी शुरुभएको उक्त कार्यक्रममा भिक्षु शरणंकरले सुमना सूत्रको आधारमा कथिन चीवर दानको महत्वबारे उपदेश दिनुभएको थियो ।
मोहनमाया डंगोल, गौरी बज्राचार्य, कमल हेरा ताम्राकार लगायत ८ जना कथिन दाताहरुले संयुक्तरुपमा भिक्षु संघलाई कथिन चीवर दान गर्नुभएको थियो ।
कार्यक्रममा पुननिर्माण भईरहेको बुद्ध विहारका दाताहरुमध्ये ५० हजार भन्दा बढी चन्दा सहयोग गर्ने दाताहरुको नाम शिलापत्रमा उल्लेख हुने जानकारी दिइएको थियो ।
कार्यक्रमको अन्तमा पुण्यानुमोदन तथा उपस्थित भिक्षु संघ, अनागारिकाहरुलाई दान प्रदान गरिएको थियो । ८० जना भन्दा बढी उपासक उपासिकाहरुले अष्टपरिष्कार दान गर्नुभएको थियो । यसरी प्रत्येक विहारमा दान दिने अष्टपरिष्कारबाट संकलन भएको रकम लुम्बिनीमा निर्माण भइरहेको थेरवाद विहारलाई आर्थिक सहयोग गर्ने कार्यक्रममा जानकारी दिइयो ।

2 years ago/Sunday, November 11th, 2018 /