विश्व शान्ति विहारमा कथिन चीवर दान उत्सव

बोधी संवाददाता ।
कठमाडौं, कार्तिक २५ । विश्वशान्ती विहारमा भिक्षु निग्रोध, भिक्षु आचारो सहित ५ जना भिक्षुहरु वर्षावास पूरा गर्नु भएको उपलक्ष्यमा  अाज अाइतबार कथिन चीवर दान कार्यक्रम सम्पन्न भयो ।
पहिलो पटक नेपालमा कथिन उत्सवको लागि मलेसियाका खेमानन्दी र उनको समूह चीन, अष्टेलिया, यूकेबाट समेत आउनु भएका दाताहरुबाट भिक्षु संघलाई कथिन चीवर दान गर्नु भएको थियो । साथै थाईलाण्डको धम्मकाय फाउण्डेशनबाट भिक्षु सुमंगल सहित आउनु भएका उपासिकाहरुले समेत कथिन चीवर दान गर्नुभएको थियो । यो संस्थाले नेपालमा १७ वटा विहारमा कथिन चीवर दान गर्ने लक्ष्य अनुरुप यस विहारमा पनि कथिन चीवर दान गरेको थियो ।

 

विहार प्रमुख एवं उपसंघनायक  भिक्षु ज्ञानपूर्णिक महास्थविरबाट शील प्रदान गर्नुभएको उक्त कार्यक्रममा दायक परिषदका सचिव अमिता धाख्वाले स्वागत मन्तव्य राख्नु भएको थियो । भिक्षु बोधिज्ञान सहित उपस्थित सम्पूर्ण उपासक उपासिकाहरुले सामूहिकरुपमा बुद्ध पूजा गर्नुभएको थियो ।
कार्यक्रममा स्कटल्याण्डमा बस्दै आउनु भएका भिक्षु सुजनकिर्तिले कथिन चीवरको शुरुवातसंगै कथिन चीवरको महत्व तथा कथिन चीवर दान गर्ने बेला अनुमोदन गर्न सक्नु महत्वपूर्ण भएको कुरा प्रकाश पार्नु भयो ।
कथिन चीवर दान कार्यक्रममा १३५ जना उपासक उपासिकाहरु तथा १० जना मलेसियाबाट आउनु भएका दाताहरुले अष्टपरिष्कार पनि दान गर्नुभएको थियो । अष्टपरिष्कार दानबाट संकलन भएको रकम सबै लुम्बिनीमा निर्माण भईरहेको थेरवाद विहारलाई प्रदान गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा भिक्षु सुजनकिर्ति लगायत श्रद्धालु उपासक उपासिकाहरुले विश्वशान्ती विहारमा अध्ययनरत श्रामणेरहरुलाई १ वर्षको लागि छात्रवृत्ति पनि प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा सम्पूर्ण महानुभावहरुले पुण्यानुमोदन गरी उपस्थित सम्पूर्ण भिक्षु, अनागारिकाहरुलाई दान प्रदान गरेको थियो ।