चारुमती बुद्ध विहारमा कथिन चीवर दान उत्सव सम्पन्न

बोधी संवाददाता
काठमाडौं, कार्तिक २१ । चबहिलस्थित ऐतिहासिक स्थान चारुमति स्तूप धन्दो चैत्य परिसरमा रहेको चारुमती बुद्ध विहारमा भिक्षु तपस्सी धम्म ३ महिनासम्म वर्षावास पूरा गर्नु भएको उपलक्ष्यमा मंगलबार कथिन चीवर दान उत्सव सम्पन्न भयो ।
वल्र्ड एलायन्स अफ बुद्धिष्ट, अनागारिकाहरु वीर्यपारमिता, चम्पावती, जिनवती, मैत्री पारमिताका साथै विहारका उपासक उपासिकाहरुको सहभागितामा उक्त कथिन उत्सव सम्पन्न भएको थियो ।
चारुमती स्तूप परिक्रमा गरीे शुरुवात भएको उक्त कार्यक्रममा श्रद्धेय भिक्षु बोधिसेन महास्थविरले पंचशील प्रदान गर्नुभएको थियो । अनुराधा सिंह डंगोलले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अम्बिका डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डण्यले ऐतिहासिक महत्वले भरिएको यस चारुमति स्तूप सम्राट अशोककी छोरी चारुमतीले बनाउन लगाएको साथै यस स्थानमा लिच्छविकालीन लिपि रहेको बारे प्रकाश पार्नु भयो साथै कथिन महोत्सवको शुरुवात सम्बन्धी तिंस भिक्षुहरुको बारे उपदेश दिनुभएको थियो ।
अनागारिका गुरुमांहरुबाट संयुक्तरुपमा भिक्षु महासंघलाई कथिन चीवर दान गरिसकेपछि उपासक उपासिकाहरुले अष्ट परिष्कार दान गर्नु भएको थियो । यसै गरी थाईलैण्डको धम्मकाय सेन्टरबाट नेपालमा १७ वटा विहारमा कथिन दान गर्ने उद्देश्यका साथ आउनु भएका दाताहरुले पनि कथिन चीवर दान गर्नुभएको थियो ।
कार्यक्रममा श्रीलंकाका राजदूतावासका प्रतिनिधिका साथै वडा नं ७ का अध्यक्ष शुद्ध कुमार डंगोल लगायत प्रमुख व्यक्तिहरुको सहभागीता रहेको थियो । चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले उपस्थित सम्पूर्ण महानुभावहरु तथा दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अष्टपरिष्कार दानबाट उठेको रकम लुम्बिनी उद्यानमा निर्माण भईरहेको थेरवाद विहारलाई प्रदान गर्ने जानकारी दिएको थियो ।

2 years ago/Wednesday, November 7th, 2018 /