मंगलमार्ग बौद्ध ध्यान केन्द्रमा कथिन चीवरदान सम्पन्न

बोधी संवाददाता
ललितपुर, कार्तिक २१ । प्रदेश नम्बर ३ का सांसद शोभा शाक्य सहित २० जना समूहद्वारा कुसुन्ती नक्खुमा नवनिर्मित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र नख्रखुमा सोमबार महान कथिन चीवरदान सम्पन्न भयो ।
थाईलैण्डका भिक्षु विमलधम्म महास्थविर ३ महिना वर्षावास पूरा गर्नु भएको उपलक्ष्यमा उक्त कथिन चीवर दान कार्यक्रम सम्पन्न भएको थियो । उपासक अशोक बज्राचार्यको निवासबाट कथिन चीवर जात्रा गरि विहारमा ल्याइएको थियो ।
कार्यक्रममा सांसद शोभा शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने विहारका कार्यवाहक अध्यक्ष रामकाजी अवालेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका व्यक्तिहरु समेत यस विहारमा ध्यान भावना गर्न आओस् भन्ने हेतुका साथ ध्यान केन्द्र निर्माण गरेको कुरा बताउनु भयो । साथै यस विहारले उक्त स्थानमा बुद्ध धर्म प्रचार प्रसार गर्न थप योगदान गर्ने कुरा पनि अवगत गराउनु भयो ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डण्यले चित्तको बारे धर्मदेशना गर्नु भएको थियो । कार्यक्रममा विहार निर्माणका लागि आवश्यक चन्दा दान गर्नु भएका दाताहरुलाई विभिन्न राजनितिक व्यक्तित्वहरुले सम्मान प्रदान गर्नुभएको थियो ।
श्रद्धेय गुणघोष महास्थविरले शील प्रदान गरि शुरु भएको उक्त कार्यक्रममा सांसद शोभा शाक्य लगायत २० जनाको समूहबाट भिक्षु महासंघलाई कथिन चीवर दान गरिएको थियो ।

2 years ago/Wednesday, November 7th, 2018 /