स्वन्ति तथा म्हपूजामा बनाइने मण्डलको बौद्ध दर्शन अनुसार विवेचना

बोधी संवाददाता
काठमाडौं, कार्तिक १८ । विशेष गरी काठमाडौं उपत्यकामा नेवार समुदायको संस्कृतिको रुपमा चिनिएको स्वन्ति चाड र म्हपूजा गर्दा बनाइने मन्दः (मण्डल)को बौद्ध दर्शनको आधारमा महत्वको बारेमा आज यहाँ एक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा शताब्दी पुरुष सत्य मोहन जोशीले सम्पूर्ण नेवारहरुको अमूर्त संस्कृतिको रुपमा जीवित चाड स्वन्तिको धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्वको बारेमा चर्चा गर्नुभयो भने लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नेरश मान वज्राचार्यले नेवारहरुले म्हपूजा गर्दा बनाइने मन्दःको अर्थ प्रष्ट्याउनुभयो ।

जोशीले स्वन्ति भनेको मुख्यतः मृत्युसँग सम्बन्धित भएपनि विशेष गरेर यसमा नेवारहरुले गर्ने म्हपूजाको कारणले यो अन्य जातजातिले गर्ने भन्दा पृथक रहिआएको प्रसंग उठाउनुभयो । उहाँले नेवारहरुले आफ्नो शरीरको महत्व बुझेर, त्यसमा लुकेको देवत्वलाई पूजनीय ठानेर वर्षको एकदिन पूजा गर्नुमा जानेर नजानेर आफ्नै किसिमको दर्शन अपनााइरहेको छ जुन विश्वमा नै अद्वितीय तथा अनुकरणीय हुनसक्ने पनि बनाउनु भयो ।

वज्राचार्यले नेवारहरुले पूजा गर्ने म्ह अथवा शरीरले जिउँदो मानिसलाई जनाउने र यस पूजाको लागि हरेक व्यक्तिको अगाडि बनाइने कलात्मक मन्दःले जिउँदो मासिनको काय, वाक र चित्त मण्डल जनाउने तथा यसले उक्त व्यक्तिको व्यक्तित्वको प्रतिविम्ब नै झल्काउने पनि बताउनुभयो ।

 

उहाँले बताउनुभएअनुसार हरेक मण्डलमा चित्त, वाक तथा कायको अन्तर सम्बन्धलाई देखाउँछ जसलाई तीनवटा वृतले प्रतीकात्मक रुपमा झल्काउँछ । उहाँले बौद्ध दर्शन अनुकास मानिसको शरीर ६ वटा इन्द्रिय धातु, ६वटा विषय धातु तथा ६ वटा विज्ञान धातुले बनेको हुन्छ, जसलाई अझ गहिरिएर ६ वथा इन्द्रिय आयतन तथा ६ वटा विषय आयतनको रुपमा पनि व्याख्या गर्न सकिन्छ ।

कार्यक्रमको अन्त्यमा वक्ताहरुलाई उदाय समाजका अध्यक्ष स्वयम्भु रत्न तुलाधरले सम्झनाको चिनो प्रदान गर्नुभयो ।

साथै कार्यक्रमको अन्त्यमा आजै दीवंगत हुनुभएका भाषा अभियन्ता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सद्गतिको लागि दुर्गति परिशोधन पाठ पनि गरियो ।
“थःगु संस्कृति सम्पदा म्हसिइके” (आफ्नो संस्कृति चिनौं) नाम दिइएको उक्त कार्यक्रम उदाय समाज उदाय म्युजियमले आयोजना गरेको थियो ।

2 years ago/Sunday, November 4th, 2018 /