काठमाडौं उपत्यकाको वज्रयान बुद्धधर्मको संरक्षण आवश्यक ः राणा रिम्पोचे

बोधी संवाददाता
काठमाडौं, कार्तिक १७ । विद्याधर आचार्य माहायोगी श्रीधर राणा रिम्पोचेले आज यहाँ नेपालमा हजारौं वर्षदेखि अटुट रुपमा प्रचलनमा रहेको वज्रयान परम्पराको आधारमा बुद्धधर्मका केही आधारभूत विशेषताको बारेमा चर्चा गर्नुभयो ।

उहाँले भारतमा बुद्धकालदेखि फैलिएको बुद्धधर्मलाई मुस्लिमहरुले नाश गरेपछि त्यहाँका बौद्ध विद्वानहरु नेपालमा त्यहीँका थुप्रै बौद्ध ग्रन्थहरु ल्याएका हुनाले नेपालमा बुद्ध धर्म फैलिएको बताउनुभयो । साथै त्यतिबेला विकासको उत्कर्षमा पुगेको काठमाडौं उपत्यकाका नेवारहरुले अवलम्बन गर्ने बुद्धधर्म हाल आएर घट्दै कर्मकाण्डमा मात्र सीमित हुन थालेकोमा दुःख व्यक्त गर्नुभयो ।

उहाले पहिला पहिला हिन्दु राजाहरुको प्रभाव भएको कारणले यहाँका बौद्ध भिक्षुहरुलाई जबरजस्ती बिहे गराई यहाँको धर्म नष्ट गरको तथा यहाँका थुप्रै बौद्ध ग्रन्थहरु नष्ट गरेको बताउनुभयो अनि अबको खुल्ला वातारणमा बौद्धहरु हिन्दुको प्रभावबाट बाहिर आएर स्वतन्त्र रुपमा आफ्नो पुर्खाले मान्दै आएको बुद्धधर्म मान्न पनि आग्रह गर्नुभयो । उहाँले यस्तै अवस्थामा रहने हो भने केही पुस्ता पछि यहाँको धर्म हराउनसक्ने सम्भावना समेत औंल्याउनुभयो ।

रिम्पोचेले प्रवचन पछि श्रोताहरुको प्रश्नको जवाफ दिनुभएको थियो ।

उक्त कार्यक्रम वज्राचार्य क्लबले आयोजना गरेको थियो भने बोधी टेलिभिजन यसको मिडिया पार्टनर रहेको थियो ।