बुटवल स्थित विहारमा कथिन उत्सव

बोधी संवाददाता
बुटवल, कार्तिक १२ । आज यहाँ स्थित पद्मचैत्य विहारमा वर्षावास सम्पन्न भएको उपलक्ष्यमा कथिन दान उत्सवको आयोजना गरियो ।

भन्तेहरुले शील प्रार्थना तथा त्रिरत्न वन्दना तथा शील प्रदानका साथ शुरु गरिएको उक्त कार्यक्रममा स्थानीय उपासक उपासिकाहरुको बाक्लो उपस्थिति थियो ।

उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विहारका सल्लाहकार विमल बहादुर शाक्यले राजधानी लगायत अन्य शहरहरुमा पनि विहारहरुको निर्माणका साथै भन्तेहरु वर्षावास बसिदिनु भनेको स्थानीय उपासक उपासिकाहरुका लागि ठुलो प्रोत्साहन भएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा भिक्षु बोधिज्ञानले थेरवाद बुद्ध शासनमा वर्षावास तथा कथिन दानको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

विहार संरक्षण समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर शाक्यले आमन्त्रण गरिएका भन्तेहरु तथा अन्य उपासक उपासिकाहरुको स्वागत गर्नुभयो भने अध्यक्ष सुरेश रत्न वज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम महासचिव दीपक बहादुर शाक्यले संचालन गर्नुभएको थियो ।

कार्यक्रम शुरुहुनुअगाडि उपासक उपासिकाहरुले बुटवल नगरपालिका क्षेत्रमा शोभायात्रा निकालेका थिए ।

यस्तै प्रकारले आजै काठमाडौ कोटेश्वरस्थित कुटीविहार, ललितपुर लुँखुसि स्थित सुमंगल विहार तथा धरान स्थित त्रिरत्न विहारमा पनि कथिन उत्सवको आयोजना गरिएको थियो ।

2 years ago/Monday, October 29th, 2018 /