गणमहाविहारबाट शुरु भयो कथिन उत्सवको लहर

बोधी संवाददाता
काठमाडौं, कार्तिक ८ । थेरवाद भिक्षुहरु तीन महिनसम्म वर्षावास बस्ने प्रक्रिया पुरा भएको उपलक्ष्यमा गरिने कथिन चीवर दान उत्सव आज शुरु भएको छ । करीब एकमहिनासम्म चल्ने यस उत्सवको पहिलो दिन आज काठमाडौंको गणमहाविहार, सुनाकोठीको बौद्धजन विहार तथा थानकोटको शुभमंगल विहारमा कथिन उत्सवको आयोजना गरियोे ।

गणमहाविहारमा लक्ष्मी केशरी शाक्य प्रमुख दाता भई कथिन चीवर दान गरिएको थियो भने यसका साथै ६६ जना उपासक उपासिकाहरुले यसै अवसरमा अष्टपरिकार दान पनि गरिएको थियो ।

शील प्रार्थना तथा बुद्धपूजाबाट शुरु भएको आजको कार्यक्रममा भिक्षु बोधिज्ञान महास्थविरले थेरवाद बुद्धधर्ममा कथिन चीवरदानको महत्व प्रकाश पाुर्नभएको थियो ।

विहार प्रमुख भिक्षु सोवितले गणमहाविहारले हरेक वर्ष मुखःअष्टमीका दिनमा कथिन आयोजना गर्ने गरेकोमा यस वर्ष त्यस दिन लुम्बिनीमा त्रिपिटक पाठ गर्ने कार्यक्रम भएकोले आजै आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा अन्तर्गत दाताहरुबाट भिक्षु महासंघलाई पवित्र कथिन चीवरदान तथा अष्थपरिकार दान प्रदान गरिएको थियो भने त्यस अन्तमा सम्पन्न भएपछि पुण्यानुमोदन भएको थियोे ।

विशेष गरी थेरवाद बुद्धधर्मकौ प्रचलन रहेका देशहरु नेपाल लगायत श्रीलंका, थाइल्याण्ड, म्यानमार आदि देशहरुको भिक्षुहरु मनसुन वर्षाहुने तीन महिना कतै नगई विहारमा नै बस्ने गरिन्छ जसलाई वर्षावास बस्ने भनिन्छ । र कोजाग्रत पुर्णिमा पछि तीनमहिनाको अधिष्ठान पूरा भएको उपलक्ष्यमा कथिन महोत्सव गर्ने चलन छ ।

यस्तो कथिन महोत्सवमा उपासक उपासिकाहरुले वर्षावास बसेका भिक्षुहरुको सम्मानमा विहारमा गएर ती भिक्षुहरुलाई विशेष चिवरको दान दिने गर्दछन्, जसलाई कथिन चीवर भनिन्छ । यस बाहेक यसै अवसर पारेर भिक्षुहरुलाई दैनिक जीवनमा प्रयोग हुने आठवटा बस्तु अर्थात् अष्टपरिष्कार भिक्षु संघलाई दान दिने गरिन्छ ।

यस्तो कथिन उत्सव कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्दछ ।

2 years ago/Thursday, October 25th, 2018 /