बोधी सहकारी तथा बोधी टेलिभिजनको वार्षिकोत्सव सम्पन्न

बोधी संवाददाता
काठमाडौं, आश्विन १५ । बोधि बचत तथा ऋण सहकारी लि.को नवौं तथा बोधि टेलिभिजनको दोश्रो वार्षिकोत्सवको उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान वज्राचार्यले बोधी टेलिभिजनले नेपाल तथा विश्वमा नै नेपालको बुद्ध दर्शन तथा बौद्ध गतिविधिहरुलाई जनसमक्ष पुर्याउन गर्दै आएको योगदानको सराहना गर्नुभयो ।

उहाँले भन्नुभयो, “बुद्ध जन्मभूमि भनेर विश्वभरि नेपाललाई चिनाइएपनि यहाँ बद्धको सन्देश दिने कुनै एक विशेष संचार माध्यम नभएकोमा बोधी टेलिभिजनले सो अभावपूर्ति गरिरहेको छ ।”

उहाँले बोधी टेलिभिजन सूर्यको किरण जस्तै नेपालको हिमाल पहाड र तराइ मात्र होइन विश्वकै कुनाकुनासम्म पुग्न सकोस् भनेर कामना पनि गर्नुभयो ।

बौद्ध विद्वान डा. रमेश ढुंगेलले बुद्धबचनलाई जनमानससम्म पुर्याउन मिडियाले भूमिका खेल्ने तथ्यलाई उजागर गर्दै बोधी टेलिभिजन बौद्धहरुका लागि मात्र नभएर समग्र नेपालीहरुकै लागि ज्ञानको ज्योती छर्ने माध्यम बन्नुपर्छ भन्नुभयो ।

साथै उहाँले बोधी सहकारी तथा बोधी टेलिभिजनलाई सँगसँगै लगेर आर्थिक लाभ र पुण्यसंचयलाई समन्वय गर्नसकेकोमा दुबै संस्थाहरुलाई बधाइ पनि दिनुभयो ।

पद्मावती ऋण सहकारीका नेमबीर शाक्यले बोधी टेलिभिजनले देश र समाजका लागि अतुलनीय योगदान गरिरहेको देखेर आफुले पनि यस संस्थासँग सहकार्य गर्न चाहेको बताए ।

बोधी टेलिभिजनका अध्यक्ष संजीव तुलाधरले ठुलो उद्देश्यका साथ शुरु गरिएको टेलिभिजन लामोसमयसम्म आन्तरिक तयारीको क्रममा प्रशारण गर्न नसेकेको मा दिवंगत धर्मपाल भन्तेको प्रेरणाले प्रशारण आरम्भ भएको स्मरण गर्दै यसले अझ बढी समयसापेक्ष कार्यक्रमहरु पस्कनका लागि सबैको सहयोगको अपेक्ष गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नेक्रममा रत्नकाजी महर्जनले सबैको सहयोग र सद्भावले यस टेलिभिजनले अझ व्यापकता पाउने विश्वास व्यक्त गर्नुभयो ।


यसका साथै उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. नरेशमान वज्राचार्यले हालै सम्पन्न धर्मदेशना तथा सञ्चार अभिमुखीकरण कार्यक्रमका सहभागी भन्ते गुरुमांहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै बोधी टेलिभिजन तथा ऋण सहकारीलाई सहयोग गर्नेहरुलाई प्रवन्ध निर्देशन रजत गुरुवाचार्यले सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रम भन्तेहरुबाट शीलप्रदान, बुद्धपूजा तथा परित्राण पाठ गरेर शुरु गरिएको थियो ।