१०८ भिक्षुहरुलाई अष्टपरिकार दान सम्पन्न

बोधी संवाददाता
काठमाडौ, भाद्र ३० । नेपालका विभिन्न ठाउँबाट आउनुभएका १०८ जना भिक्षुहरुलाई आज राजधानीको धम्मावास विहारमा अष्टपरिकार दान कार्यक्रम सम्पन्न भयो ।

विभिन्न व्यत्तिहरुले भिक्षुसंघलाई प्रदान गरिएको उक्त अष्टपरिकार दानका लागि भिक्षु बोधिसेनले वाक्य पढी सम्पन्न गर्नुभएको थियो । यस अवसरमा स्थानीय पुर्ण उपासकले आज यहाँ आफ्नै हातले बनाएका पिण्डपात्र दान गर्नुभयो ।

यसै अवसरमा शरणंकर भन्तेले लेख्नु भएको सरल पालि व्याकरण नामक पुस्तकको लोकार्पण भएको थियो । विद्या वज्राचार्यले प्रकाशन गर्नुभएको उक्त पुस्तकलाई धर्ममूर्ति भन्ते तथा कौण्डिन्य भन्तेले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा धर्म देशना दिँदै पञ्ञारत्न भन्तेले बुद्धको गुण वर्णन गर्दै उहाँले मानव मात्रको कल्याण होस् भनेर बुद्धत्व प्राप्त गर्नुभएको तथा यसैमा नै सबै मानिसको कल्याण हुन्छ भन्नुभयो । साथै उहाँले जना बुद्ध उत्पन्न हुन असंख्य वर्ष लाग्ने भएकोले यो बुद्ध शासनमा आउनुभएको सबै बुद्धहरुको गुण स्मरण गर्नुले मात्र पनि पुण्यलाभ हुने बताउनुभयो । उहाँले हामीले बुद्धको धर्मलाई बुझ्न र त्यसैको आधारमा उहाँलाई चिन्न पनि आग्रह गर्नुभयो ।

केही दिन अगाडि गुंला महिना भरी त्यहाँ २८ आदि बुद्धहरुको बारेमा धर्मदेशना गरिएको थियो ।

कार्यक्रमको अन्तमा त्यहाँ उपासक उपासिकाहरुले पनि भिक्षुहरुलाई दानप्रदान गर्नुभएको थियो ।

3 years ago/Saturday, September 15th, 2018 /