श्रीलंकाका राष्ट्रपति सिरिसेनद्वारा लुम्बिनीमा बुद्धपूजा

राजेन मानन्धर

लुम्बिनी, रुपन्देही, भाद्र १६ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेन आज शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर बुद्धपूजामा सरिक हुनुभयो । उहाँकी श्रीमति जयन्ती पुष्प कुमारी पनि उक्त अवसरमा उहाँ सँगै बसेर पुजामा सरिक हुनुभयो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महस्थविर लगायतका श्री लंकाली, चीनियाँ, थाइ लगायततका भिक्षु अनागारिकाहरुको उपस्थितिमा भएको बुद्धपुजामा उहाँले हात जोडेर बन्दना गरेर बस्नुभएको थियो । उहाँहरुले सामुहिक रुपमा बुद्ध, धर्म तथा संघको गुणस्मरण गर्नुभयो तथा आफुले गरेको पुण्यले विश्वका सबै प्राणीहरुको कल्याण होस् भनेर प्रार्थना पनि गर्नुभयो । पूजामा उहाँहरुका साथमा श्रीलंकाको भ्रमण टोलीका अन्य सदस्यहरु प्नि सहभागी हुनुहुन्थ्यो ।

यस अघि उहाँहरुले मायादेवी मन्दिरमा गएर त्यहाँ स्थित प्राचीन मूर्ति तथा मार्कर स्टोन एवं बाहिर स्थित सम्राट अशोकले यहीँ बुद्धको जन्म भएको थियो भन्ने सन्देश सहितको स्तम्भमा समेत पूजा गर्नुभयो ।

धर्मिक कार्यक्रम पश्चात् त्यहीँ आयोजित छोटो औपचाकि कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल तथा श्रीलंका बिचको सम्बन्धको धार्मिक आधारको चर्चा गर्दै श्रीलंकाले नेपालका धार्मिक सम्पदाहरुको जिर्णोद्धारमा गरेको सहयोगको सरहाना गर्नुभयो ।

साथै लुम्बिनी विकास कोषका उपाध्यक्ष श्रामणेर मेत्तियले लुम्बिनीमा गुरुयोजनाको आधारमा क्रमिक विकास भइरहेको जानकारी पनि गराउनुभयो ।

लुम्बिनी पवित्र उद्यानको कार्यक्रम पछि उहाँ श्रीलंकाको सरकारले बनाएको लुम्बिनी स्थित श्रीलंकाली विहार तथा श्रीलंकाली विश्राम गृहको भ्रमणमा जानुभएको थियो ।
राष्ट्रपति सिरिसेन विमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउनुभएको थियो र लुम्बिनी पश्चात आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमण अवधिभरी लुम्बिनी क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

कुल जनसंख्याको ९६ प्रतिशज जनता बौद्ध भएको श्रीलंकाका जनता एक पटक भएपनि लुम्बिनी पुग्नुलाई एकदमै ठुलो पुण्यकार्यका रुपमा लिन्छन् । श्रीलंकालीहरु लुम्बिनी पुग्ने विदेशीहरु मध्ये भारत र चीन पछि सबैभन्दा धेरै आउने तीर्थालुहरुका रुपमा मानिन्छन् । लुम्बिनी विकास कोष श्रोतका अनुसार वर्षेनी करिब ५० हजार श्रीलंकाली जनता लुम्बिनीमा बुद्ध जन्मस्थल दर्शन गर्न आउँछन् ।

नेपालमा थेरवाद बुद्धधर्मको पुनस्र्थापनामा श्रीलंकाका बौद्ध भिक्षुहरुको योगदान महत्वपूर्ण मानिन्छ ।त्यस्तै गत केही दशकदेखि श्रीलंकाका सबै जसो राष्ट्रपतिहरुले लुम्बिनीको भ्रमण गर्नुभएको छ ।

बोधी टेलिभिजनसँग कुरा गर्दै भिक्षु मैत्री महास्थविरले श्रीलंकाका राष्ट्रपतिको यस भ्रमणले लुम्बिनीको छवि विश्वसामु अझ स्पष्ट हुने तथा नेपाल र श्रीलंकाको धार्मिक सम्बन्ध अझ बढी गाढा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
०००

3 years ago/Saturday, September 1st, 2018 /