ललितपुरका बौद्धहरुले मनाए यल पञ्चदान

बोधी संवाददाता

ललितपुर, भदौ २ । बौद्धहरुको बाहुल्य भएको ललितपुरको विशेष पर्वको रुपमा आज यहाँ विशेष यल पञ्चदान मनाइँदैछ ।

यस दिनमा यहाँको परम्परागत बौद्ध परिवारहरु, विशेष गरेर बज्राचार्य तथा शाक्यहरुले यस दिनमा दीपंकर तथागतको मूर्ति तथा विभिन्न देवी देवताहरुको पौभाचित्रलाई राखेर दान दिने तथा दान लिने कार्य गर्दछन् । बुद्ध धर्ममा विभिन्न बस्तुका साथै धर्म र अभय दान दिनुलाई पवित्र पूण्यको कार्यको रुपमा लिइन्छ ।

उनीहरु आफै कम्तिमा सात घरमा दिन लिनु पर्दछ भन्ने मान्यता राख्छन् र आफ्नै घरमा दानशाला बनाएर आएका सबै शाक्य वज्राचार्यहरुलाई दान दिने गर्दछन् ।

यसरी दान दिने बस्तुमा चामल, गहुँ, नुन केराउ, फलफुल तथा कुचो इत्यादि पर्दछ ।

यसदिनको दानमा दिपङ्कर बुद्धको मूर्तिलाई अगाडि राख्ने चलन छ । यहाँका बौद्धहरुले आजकै दिनमा दिपंकर बुद्धले पहिलोपल्ट दान ग्रहण गरेको विश्वास गर्दछन् ।
कोही यसलाई पाँचप्रकारका बस्तुको दान भनेर भन्छन् भने कोही पंजरां नै यसको मूल रुप हो भन्ने तर्क गर्दछन् ।

जसरी भएपनि बुद्ध धर्ममा आस्थाहुनेहरुले दानको महिमा बुझेकै कारणले दान दिँदा पूण्य लाभ हुने विश्वासका साथ यस पर्वमा भाग लिनेगरेकोमा कुनै दुइमत छैन ।

फोटो सौजन्य शान्त राज शाक्य

3 years ago/Saturday, August 18th, 2018 /