लुम्बिनीमा आजदेखि नेपालीलाई पनि प्रवेश शुल्क

बोधी संवाददाता

लुम्बिनी, रुपन्देही, भदौ १ । बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा आज भदौ१ गते देखि लुम्बिनीमा आउने विदेशीका साथै नेपाली तीर्थयात्रुहरुसँग पनि प्रवेश शुल्क लिन थालेको छ ।
लुम्बिनी विकास कोषले २०७५ श्रावण १० गते लुम्बिनी क्षेत्रको योजनावद्ध विकासको लागि भनेर भदौ १ गते देखि लागु हुने गरी संरक्षण तथा सेवा शुल्कहरु लिने निर्णय गरेको थियो ।

यस नयाँ नियम अनुसार यहाँ मायादेवी मन्दिरमा आउने सबै तीर्थयात्रुहरु लाई लुम्बिनी विकास कोषले प्रतिव्यक्ति २० रुपैंया अनि विद्यार्थीहरुसँग १० रुपैंया लिने छ । यो शुल्क भिक्षु भिक्षुणीहरुलाई भने लाग्ने छैन ।

भारतीयहरुलाई ४०, सार्क राष्ट्र तथा म्यानमारलाई २०० तथा तेश्रो राष्ट्रलाई ५०० रुपैंया कायम छ।

यस बाहेक नेपालीलाई क्यामेराको शुल्क ५० रुपैंया, भिडिओ क्यामेरा शुल्क ५०० रुपैंया अनि छायांकन शुल्क ५००० रुपैंया पनि लागेको छ । यद्यपि यो शुल्क रुपन्देही, कपिलवस्तु व सुस्ता पश्चिम नवलपरासीका जनतालाई भने शुल्क नलिइने भनिएको छ ।

आज बिहानै देखि त्यहाँ दर्शनार्थीहरु टिकट लिएर प्रवेश गर्दै थिए । स्थानीय निवासीले भने स्थानीय भएको कुनै निस्सा प्रमाण देखाएर प्रवेश गर्न पाइरहेका थिए ।