लुम्बिनीमा पहिलो पटक त्रिपिटक पाठ हुने

राजेन मानन्धर

लुम्बिनी, रुपन्देही, साउन २९ । नेपालकै इतिहासमा पहिलोपल्ट बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा अन्तर्राष्ट्रिय स्तरमा त्रिपिटक पाठ हुने भएको छ ।

आउँदो नभेम्बर १४, १५ र १६ (कार्तिक २८, २९ र ३० गते) लुम्बिनी उद्यानमा अखिल नेपाल भिक्षु महासंघ तथा शाही थाइ मन्दिरको संयुक्त आयोजनामा भगवान बुद्धद्वारा देशित उपदेश त्रिपिटकको सामुहिक पाठ गरिने छ । यसमा लगभग ३०० नेपाल लगायत भारत, श्रीलंका, म्यानमार, क्याम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापान तथा अन्य देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, अनागारिकाहरुले सामुहिक रुपमा पाठ गर्नेछन् । यस बाहेक अन्य गृहस्थ उपासक उपासिकाहरु पनि गरेर करिब ५०० जनाले यस कार्यक्रममा भाग लिने आयोजकहरुको भनाइ छ ।

यस कार्यको लागि तदारुकताका साथ तयारी भइरहेको तथा यसको आयोजनागर्नका लागि नेपालका भिक्षुहरुले गौरव महशुस गरिरहेको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरले बताउनुभयो ।
बोधि टेलिभिजनसँग कुराकानी गर्दै यसैको सिलसिलामा आज उहाँहरुले भारत, क्याम्बोडिया, म्यानमार तथा श्रीलंका विहारमा गएर त्यहाँका भिक्षुहरुसँग विभिन्न देशका भिक्षुहरुलाई कसरी बढीभन्दा बढी सहभागिता गराउने तथा उहाँहरुको विहारहरुमा कसरी नेपाली तथा विदेशी पाहुनाहरुलाई बस्ने व्यवस्था गर्ने भन्ने विषयमा छलफल गर्नुभएको बताउनुभएको छ ।

नेपालमा योभन्दा पहिला अमृतानन्द भन्तेले कल्पना गर्नुभए अनुसारको संगायना देशना २०४५सालमा भएको थियो ।

“हामी मध्ये धेरैले त सम्पूर्ण त्रिपिटक देखेका पनि छैनौं । अब यस पवित्र ग्रन्थका पाठ लुम्बिनीको उद्यानमा नै हुने भएको छ । यो सबै नेपालीहरुको लागि खुशी र गर्वको पनि कुरा हो,” मैत्री महास्थविरले भन्नुभयो ।
गत १५ वर्षदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाको अगुवाइमा बुद्धगया तथा पछि भारतका विभिन्न बौद्ध तीर्थस्थलहरुमा हुँदै आइरहेको यस कार्यक्रमलाई नेपालमा रहेको बुद्ध जन्मस्थलसम्म ल्याउने मैत्री भन्तेको योजना अनुरुप यो वर्ष लुम्बिनीमा पनि गर्न लागेको हो ।

तीन दिनको कार्यक्रम अनुसार पहिलो दिन थाइहरुले बनाएको पीस एण्ड हार्मनी सेन्टरमा बिहान नास्ता गरेर त्यहाँबाट ८ बजे मायादेवी मन्दिर तर्फ शोभायात्रा हुन्छ, ९ बजे उद्घाटन समारोह हुन्छ । १० बजेदेखि पाठ शुरु हुन्छ । पहिले सत्र ११ बजेसम्म थाइ भिक्षुहरुको नेतृत्वमा पाठ हुन्छ । भोजन पछि नेपाली भिक्षुहरुको नेतृत्वको सत्र शुरु हुन्छ । त्यसपछि क्रमशः बर्मा, श्रीलंका र क्याम्बोडियाका भिक्षुहरुको नेतृत्वमा एक एक घण्टा पाठ हन्छ । त्यसपछि चिया ब्रेक पछि ५ बजेसम्म पाठ जारी हुन्छ । त्यस पछि धर्मदेशनाको कार्यक्रम हुन्छ ।

दोश्रो दिन ८ बजेदेखि ११ बजेसम्म पाठ हुन्छ । यस सत्रको नेतृत्व महायनी अथवा हिमाली लामाभिक्षुहरुले गर्नुहुनेछ । यसपछि चीनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वको सत्र चल्ने छ ।
तेश्रोदिनमा थाइ भन्तेहरुको नेतृत्वमा पाठ शुरु हुनेछ । दिउँसो १ बजे पछिको सत्रमा नेपाली आनागारिकाहरु र आनीहरुले पाठको नेतृत्व लिनुहुनेछ । तेश्रो दिनको पाठ सकिएपछि त्यहाँ पाठ कार्यक्रममा सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरको वरिपरी मैनबत्ती सहितको शान्ति पदयात्रा तथा दीप प्रज्वलन कार्यक्रम हुनेछ ।

यसका साथै दुइ दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरुबाट धर्म देशना पनि हुने कार्यक्रम रहेको छ । पहिलो दिनको धर्मदेशना उपसंघनायक भिक्षु ज्ञानपूर्णिकबाट र दोश्रो दिनका लागि चोकी निमा रिम्पोछेलाई आमन्त्रण गर्ने कोशिस भइरहेको छ ।
नेपालमै पहिलो पल्ट हुन लागेको यस कार्यमा सम्पूर्ण नेपालीहरुले सगौरव सहभागी भएर पूण्य लाभ गर्नुपर्ने तथा यस कार्यमा सबैले सक्दो सहयोग गरेर लुम्बिनीको चर्चा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुपर्ने धारणा भिक्षु मैत्रीको छ ।

“त्रिपिटक भनेको त निकै ठुलो हुन्छ । यहाँ लुम्बिनीमा पाठ गरिनेमा विशेष गरी नेपालमा थेरवाद भिक्षु अनागारिकाहरुले हाम्रै कपिलवस्तुमै भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नुभएको बिसन्तर जातक तथा शाक्य र कोलीयहरुको युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गर्नुभएको महासमय सुत्र पाठ गरिने छ,” उहाँले भन्नुभयो । यसका लागि देवनागरीमा तथा थाइ लिपिमा उक्त ग्रन्थको पुस्तक ५०० प्रति प्रकाशित हुँदै गरेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै महायनीहरुले पनि यहाँ कुन ग्रन्थ सुत्र पाठ गर्ने हो भन्ने पछि निर्णय गर्ने छ ।

भिक्षु आनी र अनागारिकाहरु बाहेक गृहस्थ उपासक उपासिकाहरु पनि यस कार्यक्रममा भाग लिनसक्ने छन् । आयोजकहरुले सबैलाई निमन्त्रणा गरेको छ । साहभागीहरुले पूर्व सूचना दिएर आउनसक्छन् । यसका लागि भिक्षु, लामा, आनी तथा अनागारिकाहरुको सबै खर्च आयोजकले व्यहोर्ने तथा अन्यले न्यूनतम चन्दा दिएर खाने र बस्ने ठाउँ मिलाउन सक्ने छन् ।

यस सम्पूर्ण कार्यक्रमको लागि खर्च करिब १० लाख हुने अनुमान गरिएको छ ।

यसमा प्रदेश सरकार लुम्बिनी विकास कोष र स्थानीय नगरपालिका तथा होटल व्यवसायी संघ आदिबाट पनि केही सहयोग पाउने आशा आयोजकहरुले गरेका छन् ।