थाइ मुमा महारानीको जन्मजयन्तीको अवसरमा लुम्बिनीमा प्रार्थना

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, साउन २७ । थाइल्याण्डका मुुमा बडामाहारानी सिरिकितको ८६औं जन्म जयन्तीको उपलक्षमा यहाँ स्थित राजकीय थाइ विहारमा एक विशेष धर्मसभाको आयोजना गरियो ।

बुद्ध प्रतिमा अगाडि मैनबत्ती बालेर अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष िभक्षु मैत्री महास्थविरले कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे ।

उक्त पुजामा थेरवाद भिक्षु तथा अनगारिकाहरुले परित्राण पाठ गर्नुभएको थियो । यसका साथै उक्त त्यहाँ नेपालका महायानी भिक्षुहरुले पनि पाठ गर्नुभएको थियो । उक्त अवसरमा नेपाली भिक्षु अनागारिकाहरुका अतिरिक्त चीनियाँ, कोरियाली, जापानी, भिक्षुहरुले पनि आआफ्नो परम्पराअनुसार बुद्ध प्रार्थना गर्नुभएको थियो ।

प्रार्थना कार्यक्रम पश्चात् राजकीय थाइ विहारका तर्फबाट दान प्रदान तथा भोजन दानको पनि कार्यक्रम सम्पन्न गरियो ।

मुमा महारनी सिरिकितले राजा भूमिबोल अदुल्यादेजसँग सन् १९५०मा विवाह गर्नुभएको थियो । उहाँको जन्म १२ अगष्ट १९३२मा उहाँको हजुरआमा लर्ड भोंगसानुप्रभन्दको घरमा भएको थियो । उहाँका बुबा राजकुमार नखत्र मंगल थाइल्याण्डमा एक कुटनीतिज्ञ हुनुहुन्थ्यो र वासिङटनमा काम गर्नुहुन्थ्यो ।

उहाँको जन्मदिनको अवसरमा थाइल्याण्डमा तीनदिनको छुट्टीदिइएको छ र देशभरि आमाको दिनको रुपमा यसदिनलाई मनाइँदै आइरहेको छ ।