धम्मावती गुरुमां ८५ वर्षमा प्रवेश

बोधी संवाददाता
काठमाडौं, साउन ११ । नेपालको थेरवाद बुद्धधर्ममा युगान्तकारी परिवर्तन ल्याउनुहुने विदुषी धम्मावती गुरुमां शुक्रबार आषाढ पुर्णिमाका दिनमा ८५ पुग्नुभएको छ ।

उहाँको जन्मोत्सबको उपलक्ष्यमा धर्मकीर्ति विहारमा एक समारोहको आयोजना गरिएको छ जसमा सयौं उपासक–उपासिकाहरु सहभागी भए ।

यसै अवसरमा त्यहाँ साउन ६ देखि एक हप्ता सम्म अभिधर्म पाठ गरियो, जुन बुद्धले आफुलाई जन्म दिने आमा मायादेवीलाई तुषिता भूवनमा गएर उपदेश दिनुभएको भनेर बौद्धहरु विश्वास गर्छन् ।

नेपालमा बौद्ध भिक्षु बन्न लगभग निषेध भएको अवस्थामा एक जना नवकिशोरीले बर्मासम्म हिँडेर गएर त्यहाँ प्रवजित भइ बुद्धधर्म र अध्ययन पुरा गरी उहाँ नेपाल आउनुभएको थियो । यहाँ आएर उहाँले विसं २०२० सालतिर धर्मकीर्ति विहारको स्थापना गरी स्थानीय समाजमा बुद्धधर्मको महत्वको व्याख्या गर्दै आजको उमेर सम्म पनि आफुलाई व्यस्त राखिराख्नु भएको छ । बुद्धधर्मको प्रचारप्रसारमा उहाँको योगदानलाई कदर गर्दै उहाँलाई भाषा थुवाः तथा ‘शासनधज्ज धम्माचार्य अग्ग महागन्थवाचक पण्डित’ पदले सम्मानित गरिएको छ ।

उहाँले अहिलेसम्म बुद्धधर्मसम्बन्धी ४० वटा पुस्तक लेखिसक्नुभएको छ ।

3 years ago/Saturday, July 28th, 2018 /