बौद्ध हाजिरी जवाफ प्रतियोगितामा युवक बौद्ध मण्डल विजयी

विमला शाक्य
ललितपुर, साउन ६ । ऐतिहासिक रुपमा पहिलो पटक रिङ्गरोड बाहिर महालक्ष्मी नगरपालिकाको सिद्धीपुरस्थित सिद्धीमंगल विहारमा सम्पन्न ४६औं ललितपुर जिल्लाव्यापी बुद्ध र बुद्ध धर्मसम्बन्धी हाजिरी जवाफ प्रतियोगिताको रनिङ्ग शील्ड युवक बौद्ध मण्डलले जित्न सफल भएका छन् ।
प्रतियोगितामा नकबहिल परियत्ति केन्द्र दोस्रो तथा शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा विजयी समूहलाई प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शील्ड, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा बुद्ध जीवनी, गृही विनय, महान धर्मचक्र सूत्र, मिश्रित र सामान्य ज्ञानबाट पाँच वटा राउण्डमा प्रतियोगिता भएको थियो भने युवक बौद्ध मण्डलले १२ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेका थिए । अन्तिममा शाक्यसिंह परियत्ति र नकबहिल परियत्ति केन्द्र बीच ड्र भएकाले थप तीन तीनवटा प्रश्न सोधेकोमा नकबहिल परियत्ति केन्द्रले २ वटाको उत्तर दिई दोस्रो स्थान हासिल गरे भने शाक्यसिंह परियत्ति तेस्रो भएका थिए । युवक बौद्ध मण्डलले यस पटक पनि पहिलो स्थान हासिल गरी लगातार दोस्रो पटक शील्ड प्राप्त गर्न सफल भएका छन् ।

 
सिद्धिमंगल बुद्ध विहार तथा बौद्ध हाजिरी जवाफ प्रतियोगिताका संयोजक विमलो महास्थविरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिबाट, देवेन्द्र बज्राचार्यले संकलन तथा सम्पादन गर्नुभएको बौद्ध न्हय्सः लिसः नामक किताब विमोचन गर्नुभएको थियो ।साथै महिला पत्रकार तथा सिद्धिपुर परियत्ति केन्द्रका पुराना विद्यार्थी एवं सगरमाथा आरोही कल्पना महर्जनलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै महर्जनले आफुले सगरमाथा चढ्नुको मुख्य उद्देश्य भनेकै महिलाहरुलाई प्रोत्साहन दिनका लागि हो भनेर बताउनु भयो साथै आफुले सगरमाथा चढेको अनुभव बारे चाँडै किताब पनि प्रकाशन गर्नेे बताउनु भयो । करीब ८सयवटा प्रश्न उत्तर रहेको उक्त पुस्तकले अब हाजिरी जवाफ प्रतियोगितामा सहभागीहरुलाई सहयोग हुने कुरा कार्यक्रममा जानकारी गराइयो ।

 
बुद्ध जयन्तीको उपलक्ष्यमा २०३० सालदेखि औपचारिक रुपमा ललितपुरमा संचालन भैरहेको यस प्रतियोगिताले बुद्ध धर्मको प्रचार प्रसार गर्न तथा विशेष गरी युवावर्गलाई लक्षित गरी यस्ता प्रतियोगिता संचालन गर्दै आईरहेको कुरा न्हय्सः लिसः कासाः मू गुठिका अध्यक्ष राजु शाक्यले बताउनु भयो । साथै समाजसेवी एवं प्रकाशक मोतिलाल शिल्पकारले बौद्ध हाजिरी जवाफ प्रतियोगिताले बुद्ध शासनलाई टेवा पुर्याउने कुरा बताउनु भयो ।

 
प्रतियोगितामा पुर्ण राज शाक्य क्वीज माष्टर तथा भद्दिय महास्थविर, अनागारिका विमलञाणी र भक्त शाक्य निर्णाक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा सिद्धिमंगल बुद्ध विहारका अध्यक्ष जमुना महर्जनले स्वागत तथा सचिव कृष्ण गोविन्द महर्जनले प्रतिवेदन पेश गर्नु भएको थियो ।

 
कार्यक्रममा आर्थिक सहयोग गर्ने विभिन्न संघ संस्था लगायत व्यक्तिहरुलाई प्रमुख अतिथिबाट धन्यबाद पत्र प्रदान गरिएको थियो ।