दिपंकर परियत्ति विद्यार्थीलाई पुरस्कार प्रदान

बोधी संवाददाता
ललितपुर, असार ३१ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा दिपकंर परियत्ति शिक्षालयको बार्षिक उत्सव सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिले २०७४ सालमा परियत्ति कक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

 
कार्यक्रममा शिक्षालयका अध्यक्ष अमिता शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव सति धाख्वाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परियत्ति शिक्षाको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरुले नाटक तथा धम्मपद गाथा प्रस्तुत गर्नुभएको थियो ।
वि.सं २०३३ सालमा स्थापना भएको ललितपुर नागबहालस्थित यस शिक्षालयले परियत्ति कक्षा संचालनका साथसाथै वक्तृत्वकला प्रतियोगिता, बुद्ध र बुद्ध धर्म सम्बन्धीे हाजिरी जवाफ प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा भाग लिंदै आएको छ ।
हाल आदर्श सरल मा.वि. र श्री चण्डी विद्याश्रम दुईवटा स्कूल मर्ज भई श्रीचण्डी आदर्श मा.वि. भईसकेपछि त्यस स्कूलका विद्यार्थीहरुलाई परियत्ति कक्षा संचालन गरी हरेक वर्ष वार्षिक समारोहमा पुरस्कार वितरण गर्दै आइरहेको छ ।

 
नेपाल बौद्ध परियत्ति शिक्षाका शिक्षाध्यक्ष बोधिज्ञान महास्थविरद्वारा पंचशील प्रदान गरी शुरुवात भएको उक्त कार्यक्रममा विभिन्न विहारका भिक्षु, अनागारिकाहरु तथा विभिन्न बौद्ध विद्वानहरुको उपस्थिति रहेको थियो ।

3 years ago/Sunday, July 15th, 2018 /