राजा शुद्धोधनको इतिहास सम्झाउने धान रोपाइ कपिलवस्तु दरवारमा

राजेन मानन्धर
कपिलवस्तु, असार १५ । आजभन्दा २६०० वर्ष पुरानो इतिहासको एउटा बिर्सिकेको पाटोलाई बिउँझाउने प्रयास भएको छ, आज गौतम बुद्धको क्रिडास्थल कपिवस्तु दरवारको छेवैमा ।

कपिलवस्तु दरवार, जहाँ राजकुमार सिद्धार्थले आफ्नो बाल्यकाल बिताए, त्यहाँ राजा शुद्धोधन आषाढ महिनामा आफ्ना जनताको हौसला बढाउन आफै हिलोमा हाम्फाल्थे, हलो जोत्दै हिले खेता धान रोप्थे । यो इतिहासको कुरा भयो ।

यो इतिहास कपिलवस्तुकै गौरव थियो, जसले अरुले के, कपिलवस्तुकै स्थानीयबासीले समेत बिर्सिसकेको थियो । आज यसै गौरवमय दिनको सम्झना गर्दै त्यहाँ एक समारोहको आयोजना गरियो । “धान रोपाइ मंगलोत्सव कपिलवस्तु” नाम दिइएको उक्त कार्यक्रममा प्रमुख अतिथि भइ आउनुभएका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफै हलो जोत्नुभयो र खेतमा छुपुछुपु धान रोप्नुभयो । वातावरण अत्यन्त हर्षोलासमय बन्यो ।

नेपाल आफै कृषिप्रधान देश हो, त्यसमा पनि चामलको भात पहाड र तराईको मुख्य खाद्यबाली हो । मनसुनी वर्षाको शुरुवात सँगै नेपालका पहाडी र तराइका जिल्लाहरुको बर्खे धानखेती शुरु हुन्छ । धान खेतीको यसै धार्मिक, साँस्कृति र आर्थिक महत्वलाई समेत ध्यानमा राखेर असार पन्ध्रको दिनलाई सरकारले नै राष्ट्रिय धान दिवस घोषणा गरी विभिन्न कार्यक्रमकासाथ मनाइने गरिआएको छ । यसै प्रसंगमा कपिलवस्तुको दरवार छेवैमा कन्थक चैत्य नजिकैको खेतमा आज मन्त्रीले नै शुभारम्भ गर्नुभएको धान रोपाइ विभिन्न दृष्टिकोणमा महत्वपूर्ण अर्थपूर्ण छ ।

बुद्धजीवनीका कथाहरुमा यस्तो वर्णित छ — धान रोप्ने जात्रा चलिरहँदा राजाले एउटा जामुनको रुखको छायामा राजकुमारलाई विश्राम गराई राखेको थिए । उनको रेखदेखमा बसेका परिचारिकाहरु पनि केही नसोची राजकुमारलाई एक्लै छाडेर जात्रा हेर्न गए । पछि फर्केर आँउदा राजकुमार पलेँटी कसेर ध्यान गरिरहेका थिए । अनि त्यतिबेला त्यहाँ भएका सबै रुखका छाया सरिसकेका थिए भने राजकुमारलाई छाया दिइरहेको रुखको छाया भने नसरी त्यही परिरहेको थियो । त्यो आश्चर्यजनक दृष्य देखेर राजा शुद्धोधनले सिद्धार्थलाई दोश्रोपटक वन्दना गरेका थिए ।

यसरी यो पर्व यसकारण पनि महत्वपूर्ण छ कि यसले बुद्ध जीवनीको एक महत्वपुर्ण अंशलाई जोड्छ ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले भन्नुभयो, “ बुद्धको इतिहासमा यस प्रकारको धान रोपाइले अलग्ग महत्व राख्दछ । यो इतिहासको गौरवलाई बिउँझाउने प्रयास मात्र हो । अब यसको प्रेरणा लिएर मुलुक यान्त्रिक कृषितर्फ लाग्नु पर्छ ।”

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी मेत्तेयले नेपालले बुद्धको इतिहासलाई भुल्न सक्दैन र अहिले जस्तो अवस्था भएपनि यो कपिलवस्तु आफैमा पवित्र स्थल भएकोले सिद्धार्थले सात वर्षको समय यहीँ ध्यान गर्ने शीप लाभ गर्नुभएको बताउनुभयो । उहाँले हाल कपिलवस्तुको विकासको लागि सरकारले केही काम गरिरहेकोमा स्थानीय जनताले त्यसमा साथ दिनको लागि पनि आग्रह गर्नुभयो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले पचिस वर्ष अगाडि कपिलवस्तु धेरै पिछडेको र बाहिरका मानिस आएर विकास गरिदिन खोज्दा पनि विरोध गर्ने गरेको स्मरण गर्दै हाल यहाँका जनतामा धेरै चेतना आइसकेको र आफै विकासको लागि विभिन्न मागहरु समेत सकारसमक्ष प्रस्तुत गर्ने भएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले पुरानो परम्परालाई सम्झेर यसलाई निरन्तरता दिनको लागि यस्तो कार्यक्रमको शुरुवात गरेको बताउनुभएको थियो ।

यसका साथै उक्त अवसरमा स्थानी जनप्रतिनिधिहरुले मुलुककै पुरानो नगरपालिका भएर पनि कपिलवस्तु निकै नै पिछडिएको कुरा स्वीकार्दै अब यहाँ सिँचाइ, खानेपानी इत्यादिको व्यवस्था चाँडै गर्नुपर्ने माग पनि गरे ।
लुम्बिनी विकास कोषले आयोजना गरेको सो कार्यक्रममा स्थानीय साँस्कृतिक नाचहरु पनि प्रस्तुत गरिएका थिए ।

3 years ago/Friday, June 29th, 2018 /