लुम्बिनी एउटा स्थान मात्रै नभएर एउटा विचार हो

डा. बाबुराम भट्टराई
लुम्बिनी एउटा स्थान मात्रै नभएर एउटा विचार हो । आजभन्दा २५०० वर्ष पहिले यही ठाउँबाट गौतम बुद्धले जतिबेला संसार एउटा अन्धकारमय थियो, दास युगमा जेलिएको थियो त्यस्तो बेलामा गौतम बुद्धले यही भूमिबाट विश्वलाई एउटा सन्देश दिए । शोषण उत्पीडन, गरिबी, अज्ञानता, रोग–भोगका विरुद्धमा गौतम बुद्धको पहिलो विद्रोह थियो । त्यसैले आफु राजाका छोरा भएर पनि राजपात छाडेर, उनी ज्ञानको खोजीमा हिँडे र अन्ततः ठुलो परिश्रमपछि उनले यस्तो ज्ञान प्राप्त गरे, जसले त्यतिबेलाको अन्धरकारमय संसारलाई एउटा ठुलो ज्ञानको ज्योति दियो । त्यसैले आन विश्वका बौद्धमार्गीहरु झण्डै संसारका एक तिहाई जनसंख्यामा रहेका छन् र त्यो विचार आज संसारमा सबभन्दा अग्रगामी विचारको रुपमा पनि स्थापित भएको छ ।

 

 

यतिबेला अहिले पनि असमानता, शोषण, उत्पीडन विरुद्ध एकापट्टी छ भने असाध्यै सम्पन्नहरुले आफ्नो शासन सत्ता चलाउनको निम्ति हातहतियारको यस्तो ठुलो होडबाजी गरेका छन् । विश्व दुई–दुई पटक विश्वयुद्धमा होमिसक्यो भने फेरी कुनै पनि बेला अर्को भयावह युद्धको तयारी भइरहेको अवस्था छ । त्यसैले मानव जातिको लागि चिरस्थायी शान्ति कसरी प्राप्त हुनसक्छ, त्यसको खोजीमा सम्पूर्ण मानव जाति लागेको छ र यतिबेला विश्वले नै बुद्धले २५०० वर्ष पहिले जसरी सबैखाले शोषण, उत्पीडन अन्त्य गरेर मात्रै शान्ति हुनसक्छ भन्ने जुन सन्देश दिएका थिए, अन त्यसैलाई संसारले हेरिरहेको छ, खोजिरहेको छ ।

 
. . .
२५०० वर्ष पुरानो सन्देश फेरी एकचोटी सम्झाउने र सांरलाई शान्तिको मार्गमा अग्रसर गराउने हामीले प्रयत्न गरेका छौं ।
. . .

 
संसारका एक डेढ अर्ब बौद्ध धर्मावलम्बीहरु यसै क्षेत्रमा छन् । यही क्षेत्रमा आर्थिक विकास जुन ढंगले बढेको छ त्यसैले यस क्षेत्रका बौद्ध धर्मावलम्बीहरुले अपनाउने गरेको बौद्ध धर्म पनि निश्चितरुपमा संसारमा एउटा चर्चाको विषय बनेको छ । त्यसैले हामीले धर्मलाई पनि आर्थिक विकास र सम्वृद्धिसँग जोडेर हेर्न सक्नुपर्छ । त्यसैले म के भन्न चाहन्छु भने लुम्बिनी भ्रमण वर्ष मनाउनु भनेको एशियामा जुन विकासको केन्द्र सर्दैछ, तीव्र विकासको गतिमा एसिया छ, २१औं शताब्दीलाई एसियाको शताब्दी भनिदैछ त्यसैले एसियामा सबै भन्दा बढी प्रभाव रहनेवाला छ । त्यसैले सम्पन्न बुद्धिष्टहरु बुद्ध जन्मेको स्थल लुम्बिनीमा निश्चितरुपमा आउने चाहनेछन् । किनकि गरिब भयो भने बाटो खर्च तिर्न नसक्ने भयो भने कोही पनि चाहेर पनि भ्रमण गर्न सक्दैन । त्यसको निम्ति आर्थिक सम्बृद्धि पनि चाहिन्छ, त्यसैले यो सम्वृद्धि सँगसँगै बुद्धधर्मको प्रचार पनि बढेर जानेछ र लुम्बिनी आउनेहरुको संख्या पनि बढ्नेछ । त्यसो भएको हुनाले नेपाल जहाँ यो लुम्बिनी छ, यहाँ बुद्ध जन्मेका थिए, हामीले पनि यो पाटोलाई ध्यान दिएर लुम्बिनीको विकासमा हामीले जोड दिनुपर्छ । त्यसो हुन सक्यो भने संसारका लाखौंमात्र होइन करोडौं संख्यामा टुरिस्टहरु यहाँ आउन सक्ने छन् र त्यसले एउटा हाम्रो जुन शानित्को विचार हो त्यसलाई मात्र प्िरचार प्रसार गर्नेछैन, एउटा धार्मिक पर्यटनको हिसाबले सम्वृद्धिमा योगदन समेत गर्न सक्नेछ ।

 

. . .
त्यसैले हामीले आगामी दिनमा लुम्बिनीलाई विशेष केन्द्रित गरेर विकासका कार्यक्रमहरु ल्याउँदैछौं र लुम्बिनीको विकासको कुरा गर्दा हामीले तीन चार घेरामा यसको विकास गर्ने हामीले सोचेका छौं । पहिलो त यो स्थल जहाँ बुद्ध जन्मेका थिए त्यो ठाउँको विकास, प्रसिद्ध आर्किटेक्ट केन्जो टाङ्गेले बनाएको जुन त्यो मास्टर प्लान हो त्यही अनुसार यस क्षेत्रको विकास गर्ने पहिलो हाम्रो प्रयत्न हुन्छ । त्यसपछि बुद्धका जीवनसँग जोडिएका क्षेत्रहरु लुम्बिनी, तिलौराकोट लगायतका जुन क्षेत्रहरु हुन्, यहाँ कपिलवस्तु, रुपन्देही र नवलपरासी सम्म देवदह, रामग्राम लगायतका ठाउँहरु फैलिएका छन् त्यसलाई सर्किटको रुपमा विकास गर्ने हाम्रो प्रयत्न रहनेछ । क्षेत्रीय रुपमा एउटा योजना बनाएर हामीले विकासको मार्ग बनाउँदै छौं । त्यसपछि क्षेत्रीय स्तरमा हाम्रो राष्ट्रिय देशीय सीमाना नाघेर बुद्ध यहाँ जन्मे तर फेरी उनले ज्ञान प्राप्त बोधगयामा गरे । र उनले सारनाथमा त्यसको प्रचार प्रसार गरे र कुशीनगरमा देहत्याग गरे । त्यसैले बुद्धको जीवनका ती महत्वपूर्ण स्थलहरुलाई पनि हामीले एकिकृत ढंगले जोड्न र विकास गर्न जरुरी छ त्यस अर्थमा क्षेत्रीय स्तरमा पनि हामीले विकासको जोड दिन्छौं । पर्यटनको विकास गर्न चाहन्छौं ।

‍‍. . .
त्यसो भएको हुनाले लुम्बिनीको विकास हुँदा छेउछाउका जनता, स्थानीय जनता, सम्पूर्ण नेपालका जनता दक्षिण एसियाका जनताको समेत विकास हुने ढंगले हामीले सोच्नु पर्छ र नेपाल सरकारोका त्यही प्रकारको सोच छ ।

१५ मंसिर २०६८, लुम्बिनी भ्रमण वर्ष २०१२को घोषणा कार्यक्रममा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा दिएको भाषणमा आधारित । साभार आनन्दभूमि ४०/१