ओकुबहालमा जेष्ठ बौद्धहरु सम्मनित

बोधी संवाददाता
ललितपुर, असार ११ । यहाँ स्थित वज्रयान बौद्धहरुको संघ अन्तर्गतको ओकुबहाल टोल सुधार समितिले स्थनीय ज्याःजंको भिमरथारोहण सकिएका ६१ जना जेष्ठ सदस्यहरुलाई सम्मानित गरी दोस्रो बार्षिक साधारण सभा सम्पन्न भयो ।

 
ललितपुर महानागरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त कार्यक्रममा चौथो जंको सकाएका जेष्ठ नागरिकदेखि वरिष्ठ कलाकार कालु कुमाले लगाएत संगीतकार किरण शाक्य लगायत बुद्धिजीवि कुल बहादुर शाक्य तथा अन्य सदस्यहरुलाई दोसल्ला तथा प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।

 
समितिले स्वास्थ्य एवं सरसफाई, बत्ति व्यवस्थापन, पर्यटन तथा तालिम व्यवस्थापन, धार्मिक साँस्कृतिक तथा भ्रमण , खानेपानी तथा ढल निकास व्यवस्थापन, सार्वजनिक निर्माण जस्ता विभिन्न उपसमितिहरु गठन गरी आप्mनो टोलमा विकासका काम गर्दै आएको कुरा समितिका अध्यक्ष यश कुमार शाक्यले बताउनु भयो ।

 
कार्यक्रममा कोषाध्यक्ष नानीहेरा शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गनुभएको थियो । ओकुबहाल टोल प्राचीन संस्कृति र धातुकलाका साथै सिद्धहस्त कालीगढहरुको महत्वपूर्ण ठाउँ रहेकोले धातु मुर्तिकार तथा व्यापारीहरुलाई हौसला दिने उद्देश्यले हरेक नयाँ वर्षको उपलक्ष्यमा भित्ते पात्रो प्रकाशन गर्दै आएको तथा २०७२ सालको महाभूकम्पले भत्केका पाटी पौवा मन्दिरहरुको जिर्णोद्धार कार्य पनि यस समितिले गर्दै आएको छ ।

 
कार्यक्रममा टोलका महाबौद्ध युथ क्लब, महाबौद्ध पुस्तकालय, तःगो चिभा संरक्षण समिति, त्रिरत्न भजन खलः, दाफा भजन खल, रुद्रवर्ण महाविहार संरक्षण समिति लगायत विभिन्न मिसा पुचः, सहकारी संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।