प्राचीन बाजा दमोखिं प्रतियोगिता सम्पन्न

विमला शाक्य
ललितपुर, असार १० । विशेष गरी ललितपुरमा बौद्ध नेवारहरुले बजाउने गरेको बौद्ध सम्पदाको रुपमा चिनिएको दमोखिं बाजालाई अझ बढी प्रख्यात गर्ने उद्देश्यले संचालित प्रथन दमोखिं बादन प्रतियोगिता ललितपुरमा सम्पन्न भयो ।

 

 

उक्त प्रतियोगितामा प्रथम सौगल टोल, द्वितीय ईखालखु टोल तथा तृतीय स्थान प्राप्त हुने ओकुबहाललाई शताब्दीपुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले क्रमशः रु.३० हजार रु.२० हजार र रु. १० हजार नगद उपहार सहित ट्रफी प्रदान गर्नुभएको छ ।
उक्त कार्यक्रमको फाईनल प्रतियोगितामा नकबहिल, चक्रबहिल, ओकुबहाल, ईखालखु र सौगलटोलका दमोखिं बाजाका वाद्यवादकहरुले आफ्नो प्रस्तुति देखाएका थिए भने प्रतियोगिताको बीचमा सौगल टोलका वाद्यवादकहरुले जोडा डमरु र ओकुबहालका वाद्यवादकहरुले न्येकू बाजा सहित दमोखिं प्रस्तुत गरेका थिए ।

 
ललितपुरमा १४ सय वर्षदेखि संचालन हुँदै आएको ऐतिहासिक मतयाः दीप जात्राको बेला दमोखिं बाजो तथा न्येकू बाजा प्रस्तुत हुँदै आएको कुरा प्रमुख अतिथिले बताउनु भयो । नेपाल जस्तो विश्वकै सानो देश त्यसमध्ये पनि सानो जिल्ला ललितपुरमा संसारमै नभएको बाजा बजाउने चलन रहेको र यसको ऐतिहासिक, धार्मिक महत्वबारे उहाँले बताउनु भयो । यसका साथै यस ऐतिहासिक जात्राको संरक्षणको लागि शिवदेव, अंशुवर्मा लगायत राजाहरुले जग्गाहरु राखिदिएको कुरा सरस्वती कुण्ड लेलेमा शिलालेख समेत रहेको कुरा बताउनु भयो ।

 


न्येकू जात्रा मतयाः व्यवस्थापन समितिका अध्यक्ष तारण बहादुर शाक्यले ललितपुरकै मौलिक सम्पदा रहेको यस दमोखिं बाजालाई वि.सं १९६२ मा हौगल टोलका दृढमान श्रेष्ठले बाजामा रहने भैरव, काली र महालक्ष्मी देव देवीलाई आवश्यक गरगहनाले सजाएर मतयाः जात्रामा समावेश गराइएको कुरा बताउनु भयो । परम्परा सम्बद्र्धन, प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप यस प्रतियोगिता गरेको कुरा पनि उहाँले बताउनु भयो ।
पाटन जेसीसका अध्यक्ष सुमन श्रेष्ठले संस्कृति नै हाम्रो पहिचान हो भन्ने मूल नाराका साथ पर्यटन प्रवद्र्धन गर्नका लागि नयाँ पिढीलाई यसको महत्व बुझाउनका लागि पनि यस प्रतियोगिताको आयोजना गरेको कुरा बताउनु भयो ।

 
कार्यक्रममा वरिष्ठ वाद्यवादक गुरुहरु मोतिलाल शिल्पकार, वत्स गोपाल वैद्य, हरिमान श्रेष्ठ र प्रदिप मान श्रेष्ठले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगाएत, १६ वडाका अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन लगायत १० वटा टोलका वाद्यगुरुहरु तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रम पाटन जेसिस तथा न्येकू जात्रा मतयाः व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजनामा गरेको थियो ।