लुम्बिनी सम्बन्धी नयाँ वृत्तचित्र सार्वजनिक

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, असार २ । बुद्धको जन्मभूमिको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले निर्मित दुई वृत्तचित्र आज यहाँ एक समारोहको बिच सार्वजनिक गरियो ।

स्थानीय चेतन पन्तद्वारा निर्मित उक्त दुई वृत्तचित्रमध्ये एउटा नेपाली भाषामा र अर्को अंग्रेजी भाषामा थियो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले लुम्बिनी बुद्धको जन्मस्थल हो भनेर पत्ता लागेको सय वर्ष बितिसक्दा पनि यहाँ आज तीर्थयात्रुहरुले विभिन्न असुविधा भोग्नु परेको कुरा उल्लेख गर्दै यसबारेमा पत्रकारहरुले अझ सशक्त ढंगले कलम चलाउनुपर्ने बताउनुभयो । यसका लागि यहाँको अधिकारिक संस्था लुम्बिनी विकास कोषको विरोध नगरी सकारात्मक सहयोग पुग्ने ढंगले समाचार सम्प्रेण हुनुपर्ने उहाँको धारणा थियो ।

लुम्बिनी विकास कोषका प्रमुख सूचना अधिकृत हरि राईले उक्त वृतचित्रमा केही तथ्यगत गल्ती भएकोले यसलाई सार्वजनिक गरी दर्शकसामु पुर्याउनु अघि सच्याउनुपर्ने बताउनुभयो । साथै अंग्रेजी भाषाको वृत्तचित्रमा भाषा र उच्चारण सम्बन्धी गल्ती भएकोले यस्तो वृत्तचित्र बनाउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा स्वीकार गरिने उच्चारण भएको उद्घोषकले मात्र उद्घोषण गरेमा सही सन्देश विदेशमा पुग्ने पनि बताउनुभयो ।

स्थानीय पत्रकार नारायण सापकोटाले नेपालमै बुद्धको जन्म भूमि भएर पनि हामीले यसबाट यथोचित लाभ लिन नसकेको बताउँदै अहिले नेपालीहरु माल पाएर पनि चाल नपाएको अवस्थामा रहिरहेको उहाँले बताउनु भयो । उहाँले हाल पनि लुम्बिनीमा एउटा डम्पिङसाइट नहुनु तथा पर्यटकहरुलाई सुविधा नहुनु भनेको खेद जनक भएको बताउनुभयो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले सबै पत्रकारहरुले आआफ्नो ठाउँबाट लुम्बिनीको यथोचित प्रचार प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस क्लब अफ लुम्बिनी भैरहवा द्वारा आयोजित उक्त कार्यक्रममा वृत्तचित्र निर्माता पन्तले आफू व्यवसायिक चलचित्र निर्माता नभएतापनि लुम्बिनीको प्रचारप्रसारमा मद्दत होस् भन्ने हेतुले उक्त वृत्तचित्र बनाएको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा राख्नुभयो ।