लुम्बिनीमा ५००० फलफुलका विरुवा रोप्ने अभियानको शुरुवात

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, जेठ २३ । भगवान बुद्धको जन्म भएको पवित्र लुम्बिनी उद्यानबाट यहाँ वर्षभरिमा ५००० वटा फलफुलका विरुवा रोप्ने अभियानको शुरुवात  गरिएको छ ।

मंगलबार विश्व वातावरण दिवसको उपलक्ष्यमा यहाँ विभिन्न विहार मन्दिरहरुमा बस्दै आउनुभएका भिक्षुहरु, स्थानीय जनप्रतिनिधि एवं सरकारी कर्मचारीहरुले विभिन्न जातका रुख रोप्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उदय रानामगरले सरकारले देशभरी नै एक व्यक्ति एक विरुवाको नारा ल्याएर सबै नागरिकहरुलाई वातावरण प्रति जिम्मेवार बनाउने अभियान थाले बमोजिम विश्व वातावरण दिवस पारेर लुम्बिनीमा वृक्षारोपणको कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले यस कार्यले हाल लुम्बिनी लगायतका ठाउँमा वातारणको क्षति भइरहेकोमा केही हदसम्म क्षतिपूर्ति गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । साथै उहाँले विश्वका पर्यटकहरुलाई आमन्त्रित गर्न पनि यस अभियानले सहयोग गर्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य फखरुद्दिन खानले लुम्बिनीलाई स्वच्छ, सफा र सुन्दर शहरको रुपमा विकास गरौं भन्ने अभियानको अनुरुप यस वृक्षारोपण कार्य थालिएको बताउँदै यसले लुम्बिनीकै विकास गर्ने योजनालाई सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमका आयोजकले वर्ष भरिमा यहाँ उपलब्ध हुने आँप, जामु, कटहर तथा अम्बा तथा अन्य जातका ५००० विरुवा लगाइसक्ने जानकारी दिएको छ ।