लुम्बिनीमा बुद्ध जयन्ती मनाउन तीन हजार भेला हुने


बोधी संवाददाता
काठमाडौं चैत्र ११ ।
आउँदो बुद्धजयन्तीको दिन तीन हजार भन्दा मानिसहरु लुम्बिनीमा  भगवान बुद्धको जन्म, ज्ञानलाभ तथा महापरिनिर्वाण दिवस मनाउन भेला हुने भएका छन् ।
लुम्बिनी विकास कोषको अगुवाइमा आउँदो २५६२औं बुद्ध जयन्ती सरकारले बुद्धको जन्मभूमि, बुद्धधर्म र विश्वशान्तिको मुहान भन्ने मुख्य विषयमा केन्द्रित भइ मनाउन लागेको छ ।

 

 

बुद्ध जयन्ती अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिको आज बसेको बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक भिक्षु मैत्तियले भन्नुभयो, यसपालिको बुद्ध जयन्ती सम्मेलन मुख्य गरी अन्तर्राष्ट्रिय समुदायलाई बुद्ध शिक्षाको मर्म बारे ज्ञान दिने अनि बुद्ध जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्तिको मुहानको रुपमा चिउने हो ।

 

 

यसका लागि हाल नेपाल सेनाले ३,००० जना अट्ने पाल बनाँदैछ, जसका लागि खर्च मात्र लगभग ४ करोड लाग्ने देखिन्छ । कुल ६ करोड बजेटको समारोहमा ४ करोड पाल बनाउनमा मात्र खर्चिने देखिएको सो समारोहको सबै खर्च लुम्बिनी विकास कोषमार्फत गरिने छ ।
“नेपालमा बुद्ध जयन्ती मनाउन युद्धस्तरमा काम भैरेहेको छ भनेर विश्वले थाहा पाउनुपर्छ,” उहाँले थप्नुभयो ।

 

बैशाखको १५, १६ व १७ लुम्बिनीको चीनिया, बर्मी मन्दिरमा तथा नयाँ बनिरहेको पालमा हुने कार्यक्रमका लागि २३ देशमा बौद्ध संस्थाहरुमा निमन्त्रणा पठाइने छ ।

 

राष्ट्रपति तथा प्रधानमन्त्रीको सहभागिता रहने उक्त कार्यक्रममा विश्वका विभिन्न देशबाट आउनुभएका बौद्ध भिक्षु भिक्षुणी तथा अन्य बुद्धमार्गीहरु सहभागी हुने देखिन्छ ।

 

यस सम्मेलनको मुख्य कार्यक्रम भनिएको सेमिनारमा नेपाल लगायत विभिन्न देशमा विद्वान अनुसन्धानकर्ताहरुले बुद्ध धर्म र दर्शनका विभिन्न विषयमा करिब २० वटा कार्यपत्र पेश गरिने छ । यसको संयोजन लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हुने छ ।
अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका सहसंयोजक तथा प्राज्ञिक इन्चार्ज एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान वज्राचार्यले यो भनेको विश्वभरीका बौद्ध विद्वानहरुको लागि ठुलो अवसर भएको बताउँदै कार्यपत्रको संकलन तिव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
यसको दोश्रो दिनमा लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह पनि हुनेछ जहाँ यस विश्वविद्यालयसँग सम्बन्धित विभिन्न कलेजहरुबाट स्नातकोत्तर उतीर्ण गरेका तथा विद्यावारिधि गरेका सबै विद्यार्थीहरु सम्मिलित हुनेछन् ।
अखिल नेपाल भिक्षु महासंघया अध्यक्ष भिक्षु मैत्रीले यस सम्मेलनले विश्वभरी रहेका बौद्धहरु बिच लुम्बिनीको महत्व अझ बढी स्थापित हुन्छ तथा अन्य पुरातात्विक स्थलहरुसँग पनि उनीहरु परिचित हुनेछन् ।

 

लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोधले राज्यले मानउन गइरहेको यस बुद्ध जयन्तीको बैठकमा सरकारका मन्त्री वा सचिवको उपस्थिति नहुनुले राज्य कति गंभीर रहेको छ भन्ने बुझिन्छ भन्दै राज्यको सहयोग र समर्थन बिना यो सम्मेलन पुरा हुन सक्दैन भन्नुभयो ।

 

महायानी बौद्धहरुको साझा संस्था नेपाल बौद्ध महासंघका पूर्व अध्यक्ष जिग्दोल लामाले यसलाई सबै बौद्धहरुले आफ्नै उत्सब सम्झेर लुम्बिनीमा आआफ्नै श्रोतबाट लुम्बिनीमा गएर सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो ।