बुद्ध जन्मजयन्तीको उपलक्षमा लुम्बिनीमा चीनियाँहरुद्वारा पूजा

बोधी संवाददाता

लुम्बिनी, रुपन्देही, जेठ ८ । चीनियाँ भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुले यहाँ लुम्बिनीमा बुद्धको २६४२औं जन्मदिन मनाए ।
चीनियाँ प्रणाली अनुसार आजको दिनलाई बुद्धको जन्मदिनको रुपमा लिइन्छ ।

उनीहरुले बुद्ध जन्म पछिको पहिलो स्नानलाई प्रतीकात्मरुपमा सम्मान स्वरुप त्यहाँ ल्याइएको सिद्धार्थको मुर्तिमाथि फूलसहितको पानीले नुहाइदिए ।

यसका लागि करिब ५० जनाको चीनियाँ भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाहरुको समुह लुम्बिनी आएका थिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तीयले नेपालमा विभिन्न देशका बौद्धहरु आएर यसरी बुद्धको जन्मजयन्ती मनाउनुलाई मंगल कार्य भएको बताउनुभयो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले विभिन्न देशमा आआपफ्नै किसिमले बुद्ध जयन्ती मनाउने गरेको प्रसंग उल्लेख गर्दै यस सुखद दिनमा बुद्धको शिक्षाबाट सिंचित भइ सुमार्गमा लाग्ने प्रण गर्न सकेमा बुद्ध नेपालमा जन्मेको भन्नु सार्थक हुने बनाउनुभयो ।

सहभागी चीनियाँ उपासक उपासिकाहरुले त्यहाँ आउनुभएका महायानी तथा थेरवादी भिक्षु अनागारिका तथा आनीहरुलाई दानप्रदान पनि गरेका थिए ।