रुपन्देही जिप्रकाले लुम्बिनीको विकासमा पहल गर्ने

बोधी संवाददाता
रुपन्देही, जेठ ७ । विश्वले नै महत्वका साथ हेरिरहेको बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा देखिएका चौतर्फी समस्या समाधानमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले तत्काल पहल थाल्ने भएका छन् ।

नागरिक समाज लुम्बिनीको ज्ञापन पत्र बुझ्दै प्रजिअ रानामागरले यस्तो प्रतिवद्धता गरेका हुन् ।

लुम्बिनीका होटल तथा पर्यटन व्यवसायी, महिला समुह, युवा समुह, बौद्ध विहार तथा गुम्बाका भिक्षु, भन्ते, लामागुरुहरु सामेल नागरिक समाज लुम्बिनीले भैरहवा–लुम्बिनी सडकमा पर्ने पुलको अवस्था, उद्योगहरुले गराएका प्रदुषण, धुलो, धुँवा लगायतका चौतर्फी समस्या समाधानका निम्ति जिल्ला प्रशासन अघि सरोस् भन्ने आग्रह गर्दै ज्ञापन पत्र प्रस्तुत गरेका थिए ।

लुम्बिनीका चौतर्फी समस्या समाधान गर्न जिल्ला प्रशासनको अगुवाइमा स्थानीय निकाय, राज्य सरकार, लुम्बिनी विकास कोष, प्रहरी लगायत सरोकारवाला सबै पक्ष सामेल एक समन्वय समिति गठन गरी लुम्बिनीलाई राज्यले प्राथमिकतामा राखेको अनुभूति दिलाउन लुम्बिनी नागरिक समाजले अह्वान गरेको छ ।

नेपाल राजकीय बुद्ध विहारका प्रमुख सागर धम्मको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको थियो ।

3 years ago/Monday, May 21st, 2018 /