लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दिक्षान्त समारोह सम्पन्न

बोधी संवाददाता
लुम्बिनी, बैशाख १७ ।
नेपालकै एकमात्र बुद्ध धर्मको औपचारिक प्राज्ञिक अध्यापन हुने विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो पहिलो दिक्षान्त समारोह सम्पन्न गरेको छ ।

लुम्बिनीको नवनिर्मित सभाकक्षमा भएको दिक्षान्तमा १७ विद्यावारिधी हासिलगर्ने शोधार्थीहरु सहित तहमा गरी १ सय ७ जना विद्यार्थी दिक्षित भएका छन् । १४ वर्ष अगाडि स्थापना भएको उक्त विश्वविद्यालयले हालसम्म ३०० भन्दा बढी विद्यार्थीहरुलाई स्नाताकोत्तर उतीर्ण गरिसकेको छ ।

विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बुद्धशिक्षाको अभाव भएको औल्याउँदै लुम्बिनी बौद्ध विश्वविद्यालयले सबै नेपाली तथा विदेशीहरुका लागि बौद्ध शिक्षा सुलभ तरिकाले उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख मन्तव्य दिदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकका उपकुलपति प्रा.डा.गल्याले सुमनासिरि थेरोले नेपालमा बाैद्ध विश्वविद्याललये बौद्ध दर्शनको अध्यापनमा खेल्नसक्ने भूमिकाकाे बारेमा बताउनुभयाे । उहाँले थेरवाद, महायान एवं वज्रयान सबैले बुद्धको ज्ञान र दर्शन स्वीकार गरको कुरा उल्लेख गर्दै सबै बौद्धहरुले ज्ञानको धरातल फराकिलो पार्दै लानुपर्ने बताउनुभयो ।
उपकुलपति डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयबाट विद्यावारिधि तथा स्नातकोत्तरको उपाधि पाउँदैमा विद्वान नभइने भएकोले सबैले बुद्धधर्ममा निरन्धर अध्ययन अनुसन्धान गर्ने तथा बुद्धको शिक्षालाई हृदयंगम गरेर आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्ने समेत सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणि पोखरेलका साथै विश्वविद्यालयका रजिष्टार तिलकराम आचार्य तथा डीन माणिकरत्न शाक्य आदिले पनि विश्वविद्यालयको शैक्षिक गतिविधि तथा भावी कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।