शाक्य समाजको चौथो अधिवेशन सम्पन्न

बोधी संवाददाता
ललितपुर, चैत्र २५ । आफूलाई लुम्बिनीमा जन्मनुभएका भगवान बुद्धको वंशको भन्न रुचाउने शाक्यहरुको राष्ट्रिय संगठन राष्ट्रिय शाक्य समाजको चौथो अधिवेशन समाप्त भएको छ ।

 

 

अधिवेशनमा आफ्नो समुदायमा विशेष गरी जन्मदेखि मृत्यसम्मको सांस्कृतिक विधि एवं व्यवहार सुधार, सांस्कृतिक चाडपर्वको आवश्यकता, अनुगमन एवं सुधार, समाजको उद्देश्य अनुरुप आत्मनिर्भरता एवं आर्थिक समृद्धि, शिक्षा व स्वास्थ्यसम्बन्धमा योजना आदि ४वटा विषयमा व्यापक छलफल गरिएको थियो ।

रुद्रवर्ण महाविहार संरक्षण समितिको व्यवस्थापनमा २ दिन भएको उक्त अधिवेशनमा नेपालका ३६ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समापन समारोहमा समाजका महासचिव सुवर्ण शाक्यले अधिवेशनको समग्ररुपमा प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमा शाक्य समाजले बुद्धधर्मको क्षेत्रमा यान र वाद आदि भनी कुनै पक्षमा नरहीकन बुद्धशिक्षा र बुद्धोपदेशको अनुकूलमा आप्mनै पहिचान कायम गरी विधि अपनाउन जोड दिई आएको उल्लेख छ ।

शाक्यको गौरव, अस्तित्व, वर्चस्व कायम गर्ने समाजको निर्माणतिर लागिरहेको गतिविधि जानकारी गराउँदै आएको कुरा पनि कार्यक्रममा बताउनुभयो ।

 


शाक्य समाजका जेष्ठ ९४ वर्षका पंचराज शाक्य र १०१ वर्षकि अष्टमाया शाक्यलाई सम्मान सहित शुरु भएको उक्त अधिवेशनमा अधिराज्यभरिका शाक्य जातका प्रदेश सभाका सांसद, महानगरपालिका मेयर, वडा सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । अधिवेशनमा मोरङ्ग, झापा, संखुवासभा,नुवाकोट, मकवानपुर, भोजपुर, सुनसरी, रुपन्देही लगायत काठमाडौं, भक्तपुर र ललितपुरका प्रतिनिधिहरुले प्रतिवेदन सुनाउनु भएको थियो ।

 
अधिवेशन शुरु गर्नु भन्दा अघि ललितपुर ओकुबहालबाट मंगलबजार, गाबहाल, पिम्बहाल, नकवहिल, क्वालखु, हःखा, सौगल, सुन्धारा हुँदै कार्यक्रमस्थलसम्म पदयात्रा पनि भएको थियो ।