लुम्बिनीमा गुम्बा व्यवस्थापन तालिम सम्पन्न

बोधी संवाददाता
लुम्बिनी, रुपन्देही, चैत्र १७ । यहाँ स्थित नेपाल वज्रयान महाविहारमा आयोजित दुइदिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम आज समापन भयो ।
देशका विभिन्न भागबाट आएका गुम्बाहरुका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रममा कसरी नेपालका बौद्ध गुम्बाहरुलाई आत्मनिर्भर बनाउने र भएको श्रोतको कसरी सही परिचालन गर्ने भन्ने बारे तालिम दिइएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मुनी शाक्यले बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालकै गौरव भएकोले लुम्बिनीलाई सम्झेर पनि बुद्ध शिक्षा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

 

यस अघि आजै बिहान वज्रयान विहारदेखि मायादेवी मन्दिरसम्म कलश सहित पदयात्रा गरिएको र त्यहाँ वज्रयानी गुरु डा. कविन्द्र वज्राचार्यबाट ध्यान प्रवचन दिनुभएको थियो ।
हिजो शुक्रवार नेपाल बौद्ध महासंघका महासचिव खेन्पो कमल भण्डारीले बुद्ध दर्शनको बारेमा विशेष प्रवचन दिनुभएको थियो । साथै कार्यक्रममा महायानका तर्फबाट आनी माया तथा थेरवादका भिक्षु वजीर सिरीले धर्म देशना पनि दिनुभएको थियो ।