लुम्बिनीमा रोकिएनन् प्रदूषक उद्योग

तीव्र रूपमा लुम्बिनी क्षेत्रमा बढ्दै गरेको प्रदूषण रोक्न सरकारले त्यस क्षेत्र वरपर कार्बन उत्सर्जन गर्ने खालका उद्योग खोल्न प्रतिबन्ध लगाए पनि सो निर्णय कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाले गुनासो गरेका छन्।

ओद्योगिक प्रबर्द्धन बोर्डले १० वर्षअघि लुम्बिनीको पर्खाल भन्दा १५ किलोमिटर परसम्म उद्योग खोल्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

 

तत्कालीन हनैया गाँउ विकास समिति र हाल सियारी गाँउपालिकाभित्र पछिल्लो पटक श्रीराम सिमेन्ट उद्योग सञ्चालनको लागि निर्माण कार्य शुरू गरिएपछि स्थानीयबासिन्दा पुन: विरोधमा उत्रिएका छन्।

तर सञ्चालकले बेवास्ता जारी राखेपछि स्थानीय बासिन्दाहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि अहिले अख्तियारको निर्देशनमा उक्त निर्माण कार्य तत्कालका लागि रोकिएको थियो।

सो उद्योगलाई उद्योग विभागले नै सञ्चालन अनुमति दिएको थियो।
लुम्बिनीमा प्रदूषण
स्थानीय श्रीराम जानकी मन्दिरका संरक्षक रवीन्द्रदास वैष्णवका अनुसार अहिले फेरि त्यहाँ उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ ।

वैष्णवले भने, “हामीले विरोध गरेपछि केही समय काम रोकिदिए जस्तो गर्छन्। तर अहिले फेरि कामदारहरू आएर सरसफाइको काम थालिएको छ।”

प्रतिबन्धपछि पनि लुम्बिनी क्षेत्रमा उद्योग खोल्ने क्रम नरोकिएको वातावरण सम्बन्धी काम गर्दै आएको एक संस्था जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्रका अध्यक्ष रामचरित्र शाहले बताए।

उनले भने, “विश्व सम्पदा सूचीमा सूचीकृत एउटा ठूलो सम्पदालाई जगेर्ना गर्नुपर्दछ। तर पहिलेका सिमेन्ट उद्योगहरु प्रदूषणका स्रोत भएको थाहा हुँदाहुँदै पनि त्यसलाई रोक्ने गरिएको छैन।”
लुम्बिनी क्षेत्र वरपर रहेका कतिपय उद्योगहरुले त्यहाँ वायु प्रदूषण बढाइरहेको बताइन्छ।
करिब दुई दशकअघि देखि भैरहवा-लुम्बिनी सडक खण्ड वरपर अनियन्त्रित रूपमा उद्योग सञ्चालनको अनुमति दिँदाको परिणाम अहिले त्यहाँ दर्जनौँ सिमेन्ट उद्योग सञ्चालनमा रहेको र त्यसको प्रत्यक्ष असर विश्व सम्पदा लुम्बिनीमा परिरहेको बताइएको छ।

अधिकारविहीन
लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव अजितमान तामाङका अनुसार उद्योग विभागसँग खोल्न लागिएको उद्योग लुम्बिनी क्षेत्रभित्र पर्छ कि पर्दैन भनेर जानकारी लिनुका अतिरिक्त उनीहरूसँग अरू अधिकार छैन।

उनले भने,” खोल्न लागिएको उद्योग १५ किमीभित्र पर्छ कि पर्दैन भनेर हामी सोध्छौँ। त्यसभित्र पर्ने वा नपर्ने भन्ने जानकारी लिने र पठाउने हो। त्यो बाहेक अन्य कानूनी अधिकार हामीसँग छैन।”

विभिन्न अनुसन्धानहरूले लुम्बिनीमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा ११ गुणा बढी वायु प्रदूषण भएको देखाएका छन्।

जानकारहरूका अनुसार पुराना उद्योगलाई अन्यत्र सार्ने र नयाँ उद्योग खोल्न कडाइ नगरेसम्म लुम्बिनी क्षेत्र वायु प्रदूषण मुक्त हुने अवस्था तत्काल देखिँदैन।

साभार बिबिसी नेपाली

3 years ago/Wednesday, March 28th, 2018 /