चिनियाँ टोलीले रामग्राममा स्मार्ट पार्क बनाउँदै

परासी — पश्चिम नवलपरासीको रामग्राम स्तुपलाई व्यवस्थित र स्मार्ट पार्कका रुपमा विकास गर्न ‘चाइना–नेपाल सांस्कृतिक आदानप्रदान’ संस्थाको टोली स्थलगत अध्ययनमा आएको छ । उजैनीस्थित ऐतिहासिक स्तुप गुरुयोजनाअनुरुप सुविधा सम्पन्न पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले पेश गरेको प्रस्तावबारे अध्ययन गर्न टोली आएको हो ।

 

बृहत्तर विकासका लागि नगरपालिकाले स्वदेशी तथा विदेशी लगानी भित्र्याएर करिब डेढ अर्बमा ऐतिहासिक संरचना संरक्षण गर्दै ‘स्मार्ट पार्क’ बनाउन लागेको हो । त्यसका लागि नगरपालिकाले ‘चाइना नेपाल सांस्कृतिक आदानप्रदान’ नामक गैरसरकारी संस्थासँग सम्झौता गरेको छ । बृहत्तर विकासका लागि नगरपालिकाले स्वदेशी तथा विदेशी लगानीबाट करिब डेढ अर्ब लागतमा ऐतिहासिक संरचनाको संरक्षण गर्दै स्मार्ट पार्कको सोच बनाएको छ ।

गौतमबुद्धको एकमात्र अस्तुधातु रहेको स्तुपलाई पर्यटकीय क्षेत्र र यसको विकासका लागि कार्ययोजना बनाएर चीन भ्रमणमा गएको नगरपालिका टोलीले सम्झौता गरेपछि टोली नेपाल आएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । ‘नगरपालिका टोलीले रामग्राम स्तुप क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न लागत स्टिमेटसहित तयार पारेको योजना प्रस्तावलाई उक्त संस्थाले स्वीकारेपछि विज्ञसहितको टोली नेपाल आएर अध्ययन थालेको हो,’ नगर प्रमुख गुप्ताले भने । सम्झौताअनुसार स्तुप क्षेत्रमा म्युजिकल वाटर फाउन्टेन, ग्रिन पार्क, आध्यात्मिक गृह, लाइभ कन्सर्ट हल, फुट कोर्टलगायत संरचना बनाइने छ । सम्झौतामा तत्काल स्तुपको विकासका लागि प्राप्त हुने रकम ‘रिर्टन’ का रुपमा चिनियाँ संस्थाले लिने छ ।

 

नगरपालिकाले ‘चाइना नेपाल सांस्कृतिक आदानप्रदान’ नामक गैरसरकारी संस्थासँग सम्झौता गरेको

 

लुम्बिनी सर्किटभित्र पर्ने महत्वपूर्ण सम्पदा भए पनि लुम्बिनी विकास कोषले वास्ता नगर्दा स्तुपभित्रका संरचना जीर्ण बन्नुका साथै पर्यटक आउन छाडेपछि नगरपालिकाले ध्यान दिएको हो । नगरको स्रोतले मात्र सुविधा सम्पन्न ध्यान केन्द्र र स्मार्ट पार्क बनाउन एकैपटक नपुग्ने भएपछि प्रमुख र उपप्रमुख चीन भ्रमणको क्रममा लगानीकर्तासमक्ष यसको महत्वबारे अवगत गराएपछि लगानीकर्ता आकर्षित भएका हुन् । लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटक स्तुपमा आउने भए पनि ध्यान बस्ने ठाउँ, होटल, पानी, बिजुली तथा यातायात सुविधा नहुँदा आएकै दिन फर्कनु पर्ने बाध्यता छ । स्मार्टपार्क बनेपछि पर्यटक संख्या बढ्नुका साथै स्तुप वरपर होटल तथा अन्य व्यवसायसमेत फस्टाउने स्थानीयले आशा गरेका छन् ।

साभार : कान्तिपुर दैनिक चैत्र ४, २०७४