भिक्षु धर्मपालको अन्त्येष्ठी समापन

बोधी संवाददाता
ललितपुर, फागुण २३ । गत फागुण १९ गते शनिवारका दिन ६२ वर्षको उमेरमा निधन हुनुभएका भिक्षु धम्मपाल महास्थविरको आज विधिवत अन्तिम संस्कार गरिएको छ ।
उहाँको शवलाई ललितपुर र काठमाडौं बिचको शंखमुल घाटमा अन्तिम संस्कार गरिएको थियो ।

अखिल नेपाल भिक्षु महासंघको विशेष उपस्थ्तिि र व्यवस्थपानमा सम्पन्न उक्त शवयात्रा पछिको अन्तिमसंस्कारमा भिक्षुहरुले नै दागबत्ती दिएर भिक्षुको शवलाई खरानी बनाएका थिए ।

उक्त कार्यक्रममा थाइल्याण्ड, वर्मा, श्रीलंकाका राजदूतहरुको उपस्थिति थियो भने पूर्व प्रधानमन्त्री झलनाथ खनाल समेत उपस्थित हुनुहुन्थ्यो । यही अन्त्येष्ठीमा सहभागी हुन भनेर एक दर्जन जति उच्च ओहोदाका भिक्षुहरु थाइल्याण्डबाट आउनुभएको थियो ।

उक्त अवसरमा भन्ते गुरुमांहले भन्तेको निर्वाण कामना सहित परित्राण पाठ गर्नुभएको थियो ।

यस अघि थाइल्याण्ड, वर्मा, श्रीलंका लगायत नेपालका बौद्ध भिक्षु गुरुमांहरु एवं उपासक उपासिकाहरु सहित पाटन थैना स्थित शाक्यसिंह विहारदेखि बागमति शंखमुल घाट सम्म उहाँको शवयात्रा निकालिएको थियो । शबयात्रा श्री शाक्यसिंह विहार, थैना, ओकुबहाल, सुन्धारा, सौगल, मंगलबजार, महापाल, क्वालखु, स्वँथ, कोबहाल, ईबही, भएर शंखमूलमा अन्त भएको थियो ।
यात्रमा उहाँसँगै धर्मशासनको चीरस्थायीत्वका लागि काम गर्ने उहाँका सहकार्मी एवं सहयोगीहरु भावविह्वल देखिन्थे ।

शवयात्रा शुरु हुनुअगाडि शाक्य सिंह विहारमा पनि परित्राण पाठ एवं पाठमा सरिक हुनुभएको भन्तेहरुलाई चीवर दान गरिएको थियो । कार्यक्रममा दिवंगत हुनुभएको भन्तेका आमा पनि सहभागी हुनुहुन्थ्यो ।

४२ वर्ष भिक्षु जीवन बिताइसक्नु भएका भिक्षु धेरै वर्षदेखि शाक्यसिंह विहारमा प्रमुखको हैसियतले व्यवस्थापन सम्हालेर आइरहनुभएको थियो ।
नेपालमा बुद्धशासनको चीरस्थायीत्वका लागि जीवन अर्पण गर्नुहुने भिक्षु धर्मपाल महास्थविर ६२ वर्षको उमेरमा ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटलमो शनिवार विहान ८ः१० बजे निधन भएको थियो ।