लुम्बिनीमा क्याम्बोडियन मन्दिरको उद्घाटन

राजेन मानन्धर

लुम्बिनी, रुपन्देही, फागुन १५ । बुद्धको जन्मभूमि लुम्बिनीमा क्याम्बोडियाका जनताहरुको तर्फबाट निर्मित क्याम्बोडियन बुद्धमन्दिरको क्याम्बोडियाको राष्ट्रिय सभाका सदस्य एवं प्रधानमन्त्री सामदेश अग्ग महासेनापदी हुनसेनका प्रतिनिधि हुन नेङले आज उद्घाटन गर्नुभयो ।

तीनदिने वृहत् धार्मिक कार्यक्रम भएको उक्त उद्घाटन कार्यक्रममा उहाँकी श्रीमतिका साथै अन्य धेरै विशिष्ट व्यक्तिहरु पनि क्याम्बोडियाबाट आएर सरिक भएका थिए ।

कार्यक्रम पश्चात् उहाँले उक्त मन्दिर निर्माणमा आर्थिक सहयोग गर्नुहुने १५० जनाजति भिक्षुहरु एवं उपासक उपासिकाहरुलाई पदक प्रदान गरेर सम्मान पनि गर्नुभयो ।

सन् २००८ देखि निर्माण् शुरु भएको उक्त मन्दिर क्याम्बोडियाको झण्डामा समेत चित्रित बौद्ध सम्पदा आङकोर वाटको एक मन्दिरको पुनःनिर्माणको रुपमा लिइएको छ । यति नै भनेर भन्न नसकिएता पनि यसको निर्माणमा १० लाख अमेरिकी डलर भन्दा बढी खर्च भएको क्याम्बोडियाबाट आएको एक भिक्षुले बोधी टिभीलाई बताए ।

 

लुम्बिनीमै क्याम्बोडियन बौद्धमन्दिरको निर्माणलाई विश्वभर रहेका क्याम्बोडिया मूलका बौद्धहरुले अभियानका रुपमा थालेको र यसका लागि क्याम्बोडिया लगायत अमेरिका, क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान तथा इण्डोनेशियाका क्याम्बोडियनहरुले सहयोग गरेको बताइएको छ ।

यसको निर्माणलागि सयजना भन्दा बढी कलाकारहरु क्याम्बोडियाबाटै आएर यहाँ बसेका थिए ।
यस उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न देशमा बसोबास गर्दैआएका १२०० भन्दा बढी क्याम्बोडियनहरु लुम्बिनी आएका थिए ।


यसभन्दा अघि सोमबार अपरान्ह आयोजित धर्मसभामा संघराजा सामदेच तेप भोङको समुपस्थितिमा मुख्य भिक्षु पोनी मेत्ताले नेपालमा लुम्बिनी रहनुको महत्व तथा लुम्बिनीमा क्याम्बोडियन मन्दिर बनाउनुको अर्थ खुलाउनुभयो । साथै विभिन्न देशका बौद्ध भिक्षुहरुले बुद्धवचन पाठ गर्नुका साथै मन्दिरले विश्वभर बुद्धको सन्देश फैलाउनसकोस् भनेर आर्शिवचन पनि दिए ।

तीन दिनसम्म उक्त मन्दिरमा क्याम्बोडियन जनताहरुले फूल कपडा लगयातका सामाग्रीबाट सजावट गरेका थिए ।